काठमाडौँ-काठमाडौँको थापाथलीबाट जन्मेको २६ दिन भएकी नवजात शिशु चोरी भएको छ। थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा बालिका चोरी भएको हो।
काभ्रेको चौरी देउराली गाउँपालिका-३ घर भएर कपन बस्ने २२ बर्सिया सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै प्रहरीमा सूचना दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौँको टिमले खोजतलास सुरु गरेको छ।
अपरिचित महिलाले ‘एकपछि म लिइदिन्छु’ भनेर छोरी लिएर फरार भएको पीडितले प्रहरीलाई बताएकी छन् । अनुसन्धान अधिकृतहरूका अनुसार बच्चा लैजाने आरोपीको हुलिया पहिचान भएको छ।
उपचारका लागि लाइनमा उभिएकी अपरिचित महिलाले २६ दिने छोरी लिएर बेपत्ता भएपछि परिवार चिन्तामा डुबेको छ।
ती महिलाले लाइनमा उभिएका बेला बोकिदिन्छु भनेर शिशुलाई लिएकी थिइन्।
जन्डिसकी बिरामी शिशुको उपचारका लागि अस्पताल आइपुगेका देउरानी-जेठानी डाक्टरको पालो कुर्ने लाइनमा थिए। त्यही बेला लाइनमै रहेकी अर्की महिलाले म बोकिदिन्छु भनेपछि आमाले दिएकी थिइन्। त्यसपछि उनी शिशुसहित गायब भएकी हुन्।






प्रतिक्रिया