अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुलीमा मोहनविक्रम र मोहन बैद्यको पार्टी नै एमालेमा समाहित

सिन्धुलीमा मोहनविक्रम र मोहन बैद्यको पार्टी नै एमालेमा समाहित


काठमाडौं- सिन्धुली जिल्लामा रहेको मोहनविक्रम सिंह नेतृत्वको मसाल र मोहन वैद्य नेतृको माओवादी पार्टी एमालेमा समाहित भएका छन् ।

दुवै पार्टी हिजो एमालेमा समाहित भएका हुन । एमाले उपमहासचिव विष्णु रिमालले दुवै पार्टीको सिङ्गो जिल्ला कमिटीलाई पार्टीमा स्वागत गर्नुभयो ।

कम्युनिष्ट पार्टी भिन्नभिन्न नाममा विभाजित हुँदा मुक्ति आन्दोलन सफल हुन नसक्नै भन्दै जिल्ला कमिटीका सवै नेताहरु पार्टी समाहित गरी एमाले प्रवेश गर्नुभएको हो । नेकपा मसालका जिल्ला सेक्रेटरी सन्तबहादुर विकको नेतृत्वमा सिङ्गो जिल्ला कमिटी र चित्रबहादुर केसी सम्बद्ध राष्ट्रिय जनमोर्चामा आबद्ध ४० भन्दा बढी नेताहरू एमाले प्रवेश गर्नुभएको हो ।

त्यसैगरी मोहन वैद्य नेतृत्वको माओवादी वागमती प्रदेश कमिटी सदस्य एवं जिल्ला इञ्चार्ज बालकृष्ण थापा नेतृत्वमा रहेको कमिटी पनि एमालेमा समाहित भएको छ । सहिद ऋषि देवकोटा आजादको ४३ औँ स्मृति दिवसको अवसरमा सिन्धुलीको मरिणमा आयोजित कार्यक्रममा उहाँहरू एमाले प्रवेश गर्नुभएको हो ।

पार्टीमा समाहित भएका नेता कार्यकर्तालाई स्वागत गर्दै उपमहासचिव रिमालले नेकपा एमाले कम्युनिष्ट आन्दोलनको मूलधार भएको बताउँदै सबैलाई कम्युनिष्ट पार्टीको मूलधारमा आउन आग्रह गर्नुभयो । कार्यक्रमलाई एमाले केन्द्रीय सदस्यहरू विषमलाल अधिकारी दनुवार, मनोजजंग थापा, कमलजंग राई, सुवास देवकोटालगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीको अध्यक्षतामा भएको थियो ।