अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन

इलाम र बझाङमा वैशाख १५ मा उपनिर्वाचन

इलाम र बझाङमा वैशाख १५ मा उपनिर्वाचन


काठमाडौं-निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८० साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुवै क्षेत्रमा उपनिर्वाचनका लागि उक्त मिति तय गरिएको जानकारी दिनुभयो ।

आइतबार बसेको आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय लिएको हो।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ। त्यस्तै, बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएको थियो। 

निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिवार गर्ने गरी निर्वाचनको मिति तोकेको छ।’

नेम्वाङको भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो भने सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो ।