अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वर्ण महोत्सव मनाउँदै मगर गाउँ मावि, एमाले अध्यक्ष ओलीले उद्‍घाटन गर्ने

स्वर्ण महोत्सव मनाउँदै मगर गाउँ मावि, एमाले अध्यक्ष ओलीले उद्‍घाटन गर्ने


काठमाडौं-ललितपुरको कोन्ज्योसोम गाउँपालिका-२ शंखुस्थित श्री मगर गाउँ माध्यमिक विद्यालय (कृषि प्राविधिक शिक्षालय)ले स्वर्ण महोत्सव मनाउन लागेको छ।

२०८० फाल्गुन १८, १९ र २० गते तीन दिन विभिन्न कार्यक्रम गरी विद्यालय स्थापनाको ५० औं वर्षको उपलक्ष्यमा स्वर्ण महोत्सव आयोजना गरिने विद्यालयका प्रधानाध्यापक फूलध्वज लामाले जानकारी दिनुभयो।

स्वर्ण महोत्सवको तयारी अन्तिम चरणमा पुगेको प्रअ लामाले जानकारी दिनुभयो। महोत्सवको फागुन १८ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको प्रअ लामाले बताउनुभयो।

यस्तै, कार्यक्रममा बागमती प्रदेश समाजिक विकासमन्त्री कुमारी मोक्तान, ललितपुर क्षेत्र नम्बर १ का सांसद उदयशम्शेर राणा, स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ।

महोत्सवमा विद्यालय संस्थापक, पूर्व शिक्षक, विद्यालयबाट शिक्षा लिई विभिन्न क्षेत्र तथा तहका पुगेका पूर्वविद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रअ लामाले बताउनु भयो।

खेलकुद, कृषि प्रदर्शनी, पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, शिक्षा बहस, रास्ट्रिय स्तरका चर्चित कलाकारहरुका साथै स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति महोत्सवमा रहने विधालले जनाएको छ।

चर्चित गायक-गायिकाहरु इन्दिरा गोले, पशुपति शर्मा, विश्व दोङ, निर्मला घिसिङ, फुलकुमार बम्जन, अस्मिता डल्लाकोटी, सुप्रिम मल्ल लगायतको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका सदस्य बेलबहादुर घिसिङ तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानिय कलाकारहरु सुमन घिसिङ, सृजना घिमिरे, दोहोरी गायक सानु केसीका साथै सम्झना घिमिरे, सम्झना सेन्चुरी, प्रभात तामाङ, सदिक्षा बजगाँइ लगायतका साथै स्थानीय जातजातिका ताम्बा तथा डम्फुरे गीत, खैचडी भजनलगायत मौलिकता झल्कने प्रस्तुति रहनेछ।

महोत्सवको दोस्रो दिन फागुन १८ गते शैक्षिक बहस हुने स्वर्ण महोत्सव आयोजक समितिले जानकारी गराएको छ। स्वर्ण जयन्ती महोत्सव सम्पन्न गराउन विभिन्न उपसमितिहरू गठन गरिएका छन्। उपसमितिहरूमा राजेश घिमिरेको संयोजकत्वमा प्रकाशन, अमृत संजेलको संयोजकत्वमा सूचना सञ्चार तथा प्रचारप्रसार, कविन्द्रकुमार लामाको संयोजकत्वमा आर्थिक उपसमिति, नारायणीदेवी दुवालको संयोजकत्वमा सांस्कृतिक, महेशदत्त चौलागाईको संयोजकत्वमा कृषि तथा विज्ञान प्रदर्शनी उपसमिति, सुशीला लामाको संयोजकत्वमा स्वास्थ्य उपसमिति, मगर गाउँ मावि पूर्वविद्यार्थी समाजका अध्यक्ष रामचन्द्र आले मगरको संयोजकत्वमा मूल्यांकन अनुगमन र सुपरिवेक्षण तथा सुरेश बजगाईको संयोजकत्वमा अभिलेख तथा प्रतिवेदन उपसमिति र अर्जुनप्रसाद घिमिरेको संयोजकत्वमा सम्मान उपसमिति गठन गरिएको छ।

मगर गाउँ माध्यमिक विद्यालयको स्थापना २०३० सालमा भएको हो। यस विद्यालय दक्षिण ललितपुरको अब्बल विद्यालयको रूपमा रहेको छ। हाल विद्यालयमा १२ कक्षासम्म अध्यापन हुन्छ।

२०७४ सालदेखि यस विद्यालयमा कृषि प्राविधिक शिक्षा कक्षा ९ देखि १२ सम्म पढाइ हुँदै आइरहेको छ। अहिलेसम्म करिब यस विद्यालयबाट दुई हजारको हाराहारीमा विद्यार्थीले विद्यालय शिक्षा पूरा गरेका छन्।