उदयपुर-उदयपुरको त्रियुगा नगरपालिकाका चार वटा वडालाई लक्षित गरी करीब एक करोडको लगानीमा सिँचाइ कुलो योजना निर्माण सुरु गरिएको छ।
खेतीयोग्य जमिन भएर पनि सिँचाइको अभाव झेल्दै आएका वडा नम्बर ६, ७, ८ र ९ लाई लक्षित गरी ९७ लाख ९८ हजार २९३ रुपैयाँको लागतमा देउराली गुम्बा सिँचाइ योजना सुरु गरिएको हो।
संघ, प्रदेश, स्थानीय सरकारको ६० प्रतिशत, स्विस सरकारको ३० र उपभोक्ताको १० प्रतिशत लगानीमा ६७५ मिटर लम्बाइ रहेको उक्त योजनाको आज काेशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले शिलान्यास गर्नुभयो।
योजना शिलान्यास गर्दै उपसभामुख दनुवारले जनतालाई आर्थिक रूपले आत्मनिर्भर बनाउन सिंचाइ योजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो। उहाँले सिंचाइलाई व्यवस्थित बनाउन सके मात्र कृषि क्रान्ति सम्भव हुने बताउनु भयो।

‘सिंचाइ अभावको कारण उत्पादन वृद्धि हुन नसक्दा युवाहरू विदेशिनु परेको तितो यर्थाथ हामी सामु छ’, उपसभामुख दनुवारले भन्नुभयो, ‘सिंचाइ अभावकै कारण किसानले कृषि कर्म गर्न छाडेर बेरोजगार तथा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ ।’
त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले विकासमा सबै मिलेर लाग्नु पर्नेमा जोड दिनुभयो । विकासको विरोध गर्नु नहुनेमा उहाँले बताउनु भयो । ‘कुलो कहाँबाट लग्ने भन्दा पनि सिंचाइगर्न सबैले पाउने मुख्य कुरा हो, उहाँले भन्नुभयो, एक पटक बनेको कुलोले पुस्ता बित्ने भएकाले पारदर्शी ढङ्गले मजवुद बनाउन सबै मिलेर लाग्नुपर्छ ।’
उहाँले सिंचाइ कुलो निर्माणले कृषि उत्पादन, अर्थतन्त्र र जनतालाई आत्मनिर्भर बनाउन मद्दत पुग्ने भएकाले समयमा नै निर्माण सम्पन्न गरी लाभ लिन आग्रह गर्नुभयो ।








प्रतिक्रिया