अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले तानसेनको प्रशिक्षक प्रशिक्षण सम्पन्न

एमाले तानसेनको प्रशिक्षक प्रशिक्षण सम्पन्न


पाल्पा-नेकपा एमाले तानसेन नगर कमिटीको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। तानसेन नगर कमिटीले स्कुल विभागलाई चुस्त दुरुस्त बनाउन र कार्यकर्ताहरुबीच प्रशिक्षण लैजाने गरी प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको जनाएको छ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय स्कुल विभाग सदस्य वाईपी आचार्यले सूचना प्रविधिमैत्री पार्टी निर्माणका लागि अवको नेतृत्व अघि बढ्नुपर्ने बताउनुभयो । अहिलेको युवा पुस्ताको चाहना, सोच र आवश्यकता अनुरुप पार्टी उनीहरुसँग पुग्न नसकेको भन्दै युवाहरु पार्टीमा आउने भन्दा पनि पार्टी युवाहरु सम्म पुग्नुपर्ने अवस्था रहेको नेता आचार्यले बताउनुभयो।

अब पुरानो सोंचका आधारमा नेता बन्न सक्ने अवस्था नभएको भन्दै समय अनुसार परिवर्तन हुनेगरी आफ्नो क्षमताको विकास गर्नुपर्ने उहाँले बताउनुभयो। पार्टीसँगै नेता पनि आधुनिक जमाना अनुसारको हुनुपर्ने, सामाजिक सञ्जाल, अनलाइनको विषयमा जानकार भई अध्ययनशील हुनुपर्ने समेत बताउनुभयो ।

नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेयले पार्टीमा लाग्नेहरु विचारमा स्पष्टता हुनुपर्ने भन्दै सबै तहका सदस्यहरुलाई कक्षा सञ्चालन गरेर प्रशिक्षित गर्ने नगर कमिटीको योजना रहेको बताउनुभयो। उहाँले पार्टीमा आवद्ध हुने सबै सदस्यलाई प्रशिक्षित गर्ने योजना अनुसार काम अघि बढाइएको जानकारी दिनुभयो। प्रशिक्षण अभियान चलाउन प्रशिक्षक तयार पार्न थालिएको र वडा तहसम्म प्रशिक्षक तयार पार्ने, कार्यकर्तालाई पार्टीको विचार, सिद्धान्त, भावी रणनीति र योजनाको बारेमा प्रशिक्षित गर्ने योजना अनुरुप कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष आत्रेयको भनाइ छ ।

पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएको भन्दै प्रविधिसँग खेल्नसक्ने युवा राजनीतिमा आउन थालेको र अझै पनि अधिकांश नेता पुरानै शैलीमा रहेकोले समय सापेक्ष बन्न नसके अब जनताले विश्वास नगर्ने अवस्था बनेको अध्यक्ष आत्रेयले बताउनुभयो ।

तानसेन नगपालिका भित्रका १४ वडाका करिब एकसय बढी अगुवा नेताको सहभागिता रहेका प्रशिक्षणमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य ठाकुरप्रसाद गैरे, नेकपा एमाले केन्द्रीय स्कुल विभाग सदस्य वाईपी आचार्यले, जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रदेश सदस्य दलबहादुर गुरुङ, नारायणी शर्मालगायतले सहजीकरण गर्नुभएको नगर कमिटी सचिव महेशलाल शाक्यले जानकारी दिनुभयो।