अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजबाट संसदमा प्रि- बजेट छलफल सुरु हुने

आजबाट संसदमा प्रि- बजेट छलफल सुरु हुने


काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफलका लागि संघीय संसद्को प्रतिनिधिसभामा सोमबार प्रस्ताव पेस गर्ने कार्यसुची रहेको छ । प्रि–बजेट छलफलका सुझाव बजेटमा समावेश गर्न मिल्ने गरी सरकारले गरेको नीतिगत व्यवस्थाअनुसार सोमबार प्रि–बजेट प्रस्ताव पेस हुन लागेको हो । यसका लागि सरकारले अध्यादेशमार्फत बजेटको समयतालिका परिमार्जन गरिसकेको छ ।
परिमार्जित तालिकाअनुसार सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी १५ दिनका लागि संसद्को क्यालेन्डरलाई अन्तिम रूप दिँदै प्रि–बजेट छलफलको कार्यतालिका पारित गरेको हो ।
प्रतिनिधिसभाको आगामी १५ दिनको क्यालेन्डरअनुसार आज प्रस्तुत हुने प्रि–बजेट छलफल प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन् । प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० लाई समय निर्धारण गरिएको छ । यसबीचमा केही विधेयकहरूलाई विधायिकी प्रक्रियामा अगाडि बढाउने कार्यसूची पनि तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

संसद्मा लामो छलफल हुने तर त्यसका सुझाव बजेटमा समावेश नहुने यसअघिको परम्परा हटाउन सरकारले अध्यादेश बजेटको समयतालिका परिमार्जन गरेको थियो ।

नयाँ व्यवस्थाअनुसार बजेटको सिद्धान्त तथा प्राथमिकता सरकारले फागुनभित्रै संसद्मा पेस गर्नुपर्नेछ । त्यसपछि संसद्ले चैत १५ भित्रै सरकारलाई सुझाव पेस गर्नुपर्ने व्यवस्था पनि अध्यादेशमा समेटिएको छ । यसअघि विनियोजन विधेयक प्रस्तुत हुनुभन्दा १५ दिनअघि मात्र सरकारको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संघीय संसद्मा पेस गर्ने व्यवस्था थियो । यही बुँदा परिमार्जन गरी फागुन मसान्तभित्र पेस गर्नुपर्ने व्यवस्था गर्न सरकारले गरेको हो । सोहीअनुसार बजेटका अरू समयतालिका पनि परिमार्जन भएको अर्थ मन्त्रालयले जनाएको छ ।