अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली जत्तिको देश र जनतालाई बुझेको नेता नेपालमा कोही छैन: शंकर पोखरेल

केपी ओली जत्तिको देश र जनतालाई बुझेको नेता नेपालमा कोही छैन: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेको महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रमका कारण नेकपा एमाले जनताको बीचमा स्थापित भएको बताउनुभएको छ। 

नेकपा एमाले रामेछाप जिल्ला स्कुल विभागले सोमबार मन्थलीमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले पार्टीलाई थप बलियो बनाउन दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त गर्नुपर्ने बताउनुभयो। जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माणको लागि दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई समाप्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। 

वैचारिक  र राजनीतिक काम कम गर्न लागेपछि एउटा  इमानदार क्रान्तिकारी पनि बिग्रने पोखरेलले बताउनुभयो । पार्टी प्रधान नभएर अमुक नेता प्रधान बनेपछि नेता, कार्यकर्तामा विचलन आउने र पार्टी समाप्त हुने उहाँले बताउनुभयो । नेकपा एमालेबाट माधव नेपालहरू छुट्टिँदा धेरै मान्छेहरू पार्टी भन्दा व्यक्ति रोजेका कारण फरक धरामा लागेका उनीहरू समाप्तिको बाटोमा उन्मुख भएका उहाँले स्पष्ट पार्नुभयो । 

महासचिव पोखरेलले चुनाव नै नलडेको माओवादीलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा एमालेको सरह सिट दिएर एमाले र माओवादीलाई लडाउने काम गरेको बताउनुभयो। तर आज त्यसको सबैभन्दा बढी क्षति माओवादीले बेहोरिरहेको पोखरेलले टिप्पणी गर्नुभयो। 

महासचिव पोखरेलले राजनीतिका परिवर्तनलाई लक्षको रूपमा बुझ्न नहुने बताउनुभयो । राजनीतिक परिवर्तन समृद्धि र समाजवादको आधार मात्र भएको उहाँले प्रष्ट पार्नुभयो । 

जनतासँग टुटेको पार्टीले देश र जनताको हितमा काम गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । देश र जनताको विकासको लागि नेता जनतासँग र जनता नेतासँग जोडिनु पर्ने बताउनुभयो। समाज बदल्नु नपर्ने यथास्थितिवादीलाई नबोल पनि हुने भए पनि समाज परिवर्तन गर्नेले भने बोल्नै पर्ने पोखरेलले बताउनुभयो। ‘चेतनाको प्रवाह गर्नेहरूले बोल्नुपर्दछ, विचारको आधारमा समाजलाई डोहोर्याउनेले बोल्नु पर्दछ’, उहाँले भन्नुभयो। 

जनताले बहिष्कार गरेको शक्तिले शासन गर्ने र जनताले सबैभन्दा बढी रुचाएको शक्ति सत्ता बाहिर रहेको उहाँले टिप्पणी गर्नुभयो। यो लोकतन्त्रको मूल्य र मान्यता विपरीत रहेको पोखरेलले स्पष्ट पार्नुभयो । 

नेकपा एमाले जति बेला सरकारमा गयो त्यति बेल देश र जनताको विकास र समृद्धिको लागि काम गरेको पोखरेलले दाबी गर्नुभयो । यो कुरा जनताको बिचमा पुर्‍याउन नसक्दा विरोधीले एमाले विरुद्ध हिलो छ्याप्ने काम गरेका उहाँले बताउनुभयो । अल्पसङ्ख्यकको संरक्षण, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा लगायतका सामाजिक सुरक्षाका कार्यक्रम नेकपा एमालेले ल्याएको उहाँले प्रष्ट पार्नुभयो । हुलाकी सडक, पूर्वपश्चिम राजमार्ग विस्तार, फाष्ट ट्रयाक, विमानस्थल, सुरुङ, रेल, पानी जहाजदेखि आकाशमा स्पेस लिनेसम्मको काम एमाले सरकारले गरेको उहाँले उदाहरण पेस गर्नुभयो । 

पोखरेलले देश बनाउनको लागि देश र जनताको भावना बुझेको नेता आवश्यक पर्ने बताउनुभयो। ‘नेपालको समकालीन राजनीतिमा एमाले अध्यक्ष केपी ओली जत्तिको देश र जनता बुझेको नेता नेपालमा कोही पनि छैन’, उहाँले भन्नुभयो । 

देश निर्माणको लागि अर्को महत्त्वपूर्ण कुरा बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने पोखरेलले बताउनुभयो । नेकपा एमाले अहिले सबैभन्दा बलियो राष्ट्रिय शक्ति भए पनि सत्ता चलाउन पुग्न आवश्यक मत नरहेकोले एमालेलाई एक्लै सरकार चलाउन सक्ने ठाउँमा पुर्‍याउनु पर्नेमा उहाँले जोड दिनुभयो । नेताहरूको टाउको जोडेर होइन, जनताको मन जोडेर पार्टीलाई बलियो बनाउनु पर्ने पोखरेलको धारणा छ । 

पोखरेलले देशको धार्मिक र सांस्कृतिक पहिचान प्रति गर्व गर्नुपर्ने बताउनुभयो । धर्म र संस्कृति माथिको बढ्दो प्रहार रोक्नु आजको आवश्यकता रहको उहाँले बताउनुभयो । राष्ट्रलाई बलियो र समृद्ध बनाउने हो भने त्यसको जग के हो भन्ने कुरा राम्रोसँग बुझ्नु पर्ने पोखरेलले बताउनुभयो । जगमा टेकेर अघि बढ्दा मात्र समाजवादको आधार निर्माण हुने उहाँले प्रष्ट पार्नुभयो।