अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिँड्ने बाटोसमेत नबनेको किङगरियनपुर्वा बस्ती

हिँड्ने बाटोसमेत नबनेको किङगरियनपुर्वा बस्ती


बाँके-बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र छ– एउटा बस्ती किङगरियनपुर्वा। जहाँ अहिलेसम्म कुनै जनप्रतिनिधिको ध्यान जान सकिरहेको छैन । भौतिक पूर्वाधारका ठूला–ठूला संरचना बन्ने त परैको कुरा आवतजावतका लागि बाटोसम्म बनेको छैन । वर्षौँदेखि बाटोको समस्याले स्थानीयवासी समस्यामा परेका छन्। उपमहानगरपालिका वडा-२२ मा रहेको किङगरियनपुर्वा बस्ती उपमहानगरपालिकाभित्रकै भएर पनि अँध्यारो बस्ती बनेको स्थानीयहरू बताउँछन्।

स्थानीय सरकार आएपछि आफ्नो गाउँको स्वरुपमा केही परिवर्तन हुन्छ भन्ने आशा पलाएको बताउनुहुन्छ आशाराम चमार। “अबको समय पहिलाको जस्तो छैन। हामीलाई स्थानीय सरकार बनेपछि केही हुन्छ कि भन्ने ठूलो आशा थियो तर आजसम्म पनि हाम्रो गाउँ जस्ताको त्यस्तै छ।” आशारामले भन्नुभयो, “हाम्रो गाउँमा आवतजावतका लागि सामान्य बाटो त बन्न सकेको छैन बाँकी अरु विकासको के कुरा गर्नु रु” एकै ठाउँमा गुजुमुज्ज परेको बस्तीमा वडाको ४० प्रतिशत बसोबास रहेको छ।

किङगरियनपुर्वा बस्तीमा प्रवेश गरेपछि हिँड्ने बाटोबाहेक चौडा बाटो देखिँदैन। उक्त गाउँमा बाटोको समस्याले स्थानीयवासीलाई वर्षौँदेखि सास्ती व्यहोर्नु परिरहेको सायद किङगरियाले बताउनुभयो । “गाउँघरसम्म ठूला गाडी आउन सक्दैन। बस्तीभित्र साँघुरो हिँड्नेबाहेक अन्य चौडा बाटो छैन”, उहाँले बताउनुभयो, “हाम्रो गाउँमा बस्ती बाक्लो छ तर बाटोको समस्याले गाउँमा ठूला सवारीसाधन आउन सक्दैन । गाउँघरमा विवाह भयो भने गाउँबाट टाढै बस, ट्रयाक्टर राख्नुपर्छ।”

आशाराम र सायदले जस्तै नसिब किङगरियाले पनि आफ्नो गाउँको विकासमा स्थानीय सरकारको ध्यान नजाँदा वर्षौँदेखि सास्ती सहँदै आएको गुनासो गर्नुभयो । नसिबको भनाइअुनसार किङ्गरिया बस्तीमा कसैको घर बनाउनुपर्यो भने इँटा, माटो, सरिया, सिमेन्टजस्ता गह्रौँ सामान लैजानपर्यो भने गाउँदेखि धेरै परबाट मानिसले काँधमा बोकेर लैजानुपर्छ । बस्तीभित्र सवारीसाधन जानका लागि फराकिलो बाटो नभएकै कारण आफूहरूले वर्षौँदेखि समस्या झेलिरहेको उहाँले बताउनुभयो।

उक्त बस्तीमा कोही बिरामी पर्दा घरसम्म एम्बुलेन्स आउन नसकेको गुनासो गर्दै अर्का स्थानीय रामप्यारी चमारले बाहिर पर बाटोसम्म बिरामीलाई बोकेर लैजानुपर्ने गुनासो गर्नुभयो । “महिला सुत्केरी हुँदा होस् या वर्षायाममा सर्पले टोक्दा होस् हामीलाई लिन आएको एम्बुलेन्स पनि गाउँभन्दा पर उभिएको हुन्छ”, रामप्यारीले भन्नुभयो, “बस्तीमा न बाटोको सुविधा छ न नालाको नै । बस्तीभरि नै फोहर छ ।” गर्मीयाम सुरु हुनैलाग्दा किङगरियनपुर्वामा भएको फोहरले स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको स्थानीयको भनाइ छ । वर्षायाममा बस्तीभरि पानी जमेर हिँड्न सकिँदैन । उक्त बस्तीमा एम्बुलेन्स, दमकल, ट्रयाक्टर, बस पुग्नु त परको कुरा हो ।

किङगरियनपुर्वमा एक हजार घरधुरी छन् भने वडामा छ–सात हजार जनसङ्ख्या रहेको छ । वडाध्यक्ष अब्दुल गफ्फार हल्वाईले वडाभित्र बाटो चौडा गर्ने योजना बारम्बार ल्याउँदा स्थानीयवासीको असहमतिले बाटो निर्माण हुन नसकेको बताउनुभयो । “वडाभित्र रहेको बस्तीमा बाटो र सरसफाइलाई पहिलो प्रथामिकतामा राखेका छौँ । किङगरियनपुर्वामा पनि बाटोका लागि पहल नभएको होइन तर यहाँका स्थानीयले बाटोका लागि सहमति नगर्दा निकास खोज्न गाह्रो भएको छ”, वडाध्यक्ष हल्वाईले किङगरियनपुर्वाको विकासका लागि चाँडै नै निकास खोज्ने बताउनुभयो ।