अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले देश र जनताको हितमा बोल्न सक्दैन: रघुजी पन्त

गठबन्धन सरकारले देश र जनताको हितमा बोल्न सक्दैन: रघुजी पन्त


काठमाडौं-प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद् रघुजी पन्तले अहिलेको गठबन्धन सरकारले देश र जनताको हितको पक्षमा बोल्न नसकेको बताउनुभएको छ।

शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् पन्तले भारतकाे द पायोनियर भन्ने सञ्चारमाध्यममा नेपाल र नेपालका प्रधानमन्त्रीमाथि जथाभावि लेख्दा समेत सरकार माैन बसेकाे बताउनुभयाे।

द पायोनियरमा भारतीय सेनाको रिटायर्ड मेजर जनरल अशोक मेहताले  ‘इण्डिया इज अन द राइट ट्रयाक इन नेपाल’ शिर्षकमा फेब्रुअरी २४ मा लेख लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतका लागि उपयुक्त पात्रका रुपमा उल्लेख गरेका बताउनुभयाे।

नेपालमा रहेकाे अहिलेकाे गठबन्धन भारतका लागि ठिक भएकाे, त्यसले चीनसँग भएका सम्झाैता राेकेर राखेकाे, भारतलाई चढ्नका लागि अहिले प्रचण्ड उपयुक्त घाेडा भएका र हुनेवाला प्रधानमन्त्री शेरबहादुर देउवा भविष्यका लागि तबेलामा राखिएका घाेडा भएकाे उल्लेख गरिएकाे उहाँले बताउनुभयाे। 

सांसद् पन्तले प्रचण्ड र शेरबहादुर देउवाबीच असहमति भएपनि नेपालकाे प्रधानमन्त्रीलाई भारतीयकाे घाेडा भन्दा चित्त दुखेकाे बताउनुभयाे । प्रधानमन्त्रीलाई यति अपमानजनक भाषा लेख्दा परराष्ट्र मन्त्रालयले कुनै खण्डन नगर्नु लाजमर्दाे भएकाे समेत उहाँले बताउनुभयाे । ‘नेपालमा भइरहेका प्रधानमन्त्रीलाई एउटा विदेशीले घोडा भनेर लेख्दा हाम्रो स्वाभिमान कहाँ गयो ? यो अपमानजनक लेख, टिप्पणीप्रति परराष्ट्र मन्त्रालयले आफ्नो प्रतिक्रिया जारी गर्नुपर्दैन ?’- उहाँकाे प्रश्न छ ।

वीपी काेइरालाले जन्माएकाे नेपाली कांग्रेस आफ्नाे पार्टी सभापतिलाई जे पायाे त्यही लेख्दा चुइँक्क बाेल्न नसक्ने बताउनुभयाे । ‘परराष्ट्र मन्त्रालय त बोलेन बोलेन, वीपी काेइरालाले जन्माएकाे नेपाली कांग्रेस पनि कुन कुनामा मुर्छा परेर बसेको छ चुइँक्क बोल्दैन, आफ्नो सभापतिलाई यति लेखिरहँदा पार्टीको तर्फबाट खण्डन गर्नुपर्दैन ? यसप्रति आपत्ति जनाउनुपर्दैन ?’

देशकाे प्रधानमन्त्रीलाई भारतीयकाे घाेडा भनेर एउटा भारतीयले लेख्दा किन बाेल्न नसकेकाे भन्दै उहाँले माओवादीमाथि पनि प्रश्न गर्नुभयाे । सांसद् पन्तले भन्नुभयाे – ‘हिजो कुनै कालखण्डमा भारतसँग लड्न भनेर सुरुङ खन्ने माओवादी कमरेडहरु तपाइँहरुको पार्टीको अध्यक्ष भइरहेका प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर एउटा इण्डियनले लेख्दा चुइक्क बोल्न सक्नुहुन्न ? कुन सुरुङमा लुकेर बस्नुभएको छ ? तपाइँहरुको स्वाभिमान कहाँ गयो ? तपाइँहरुको शरिरमा नेपालीको तातो स्वाभिमानी रगत बगेको छ कि ? पानी बगेको छ ? दिनुस् जवाफ ।’

देशकाे हितमा बाेल्न नसक्ने सरकार आवश्यक नरहेकाे समेत उहाँले बताउनुभयाे । ‘देशकाे हित, नेपालकाे स्वाभिमान, भाैगाेलिक अखण्डता, नेपाली जनताकाे स्वाभिमान र त्यसकाे रक्षाका लागि देशकाे हितकाे पक्षमा बाेल्न सक्दैन भने सरकारकाे काम के ?’- सांसद् पन्तकाे प्रश्न छ ।

नेपालका हाल प्रधानमन्त्री घाेडा रहेकाे र अब हुने लाइनमा रहेका देउवा तबलामा रहेकाे घाेडा भनेर एउटा भारतीयले यति नांगाे, अपमानजनक र छुद्र भाषामा नेपाल र नेपाल नेताबारे बाेल्दा परराष्ट्र मन्त्रालय, नेपाली कांग्रेस र माओवादी नबाेलेकाेमा उहाँले आपत्ति जनाउनुभयाे । राष्ट्रियतामाथि धावा बाेल्दा कांग्रेस र माओवादी नेताहरु किन नबाेलेकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे । ‘कांग्रेस कहाँ छ ? हाम्राे नारा राष्ट्रियता समाजवाद भन्नुहुन्थ्याे राष्ट्रियतामाथि धावा बाेल्दा कहाँ हुनुहुन्छ ? कहाँ हुनुहुन्छ माओवादी कमरेडहरु आफ्नै अध्यक्षमाथि बारम्बार यस्ता कुरा लेखिँदा किन बाेल्नुहुन्न ?’ लेखिँदैन ।’

नेपाल र आफ्नै बारेमा लेखिएका छुद्र समाचारकाे खण्डन गर्न नसक्ने प्रधानमन्त्रीले राजीनामा दिए हुने समेत उहाँले बताउनुभयाे। ‘आफ्नै बारेमा लेखिएकाे समाचारबारे परराष्ट्र मन्त्रालयबाट खण्डन गराउन सक्नुहुन्न भने के खान प्रधानमन्त्री भएर बस्नुहुन्छ छाेड्नुस्, राजीनामा दिनुस्’-सांसद् पन्तले भन्नुभयाे ।