अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष तिमिल्सिनासहित राष्ट्रियसभा २० जना सदस्यहरूको पदावधि आज सकिँदै

अध्यक्ष तिमिल्सिनासहित राष्ट्रियसभा २० जना सदस्यहरूको पदावधि आज सकिँदै


काठमाडौँ– राष्ट्रियसभाका २० जना सदस्यहरूको पदावधि आज सकिँदै छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रियसभा २० जना सदस्यहरूको पदावधि आज सकिन लागेको हो । सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । 

राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न भएको गोला प्रथामा छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो । पदावधि सकिनेमा  एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई हुनुहुन्छ । यस्तै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि आजैदेखि पदावधि सकिँदै छ । 

यस्तै, नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि सकिँदै छ । माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहनुभएको छ । स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि यही समयमा पदावधि सकिँदै छ ।

आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । निर्वाचित सांसदहरूले भोलि शपथग्रहण हुनेछ । बाँकी रहेको एक पदमा राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नुहुनेछ ।