अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार  बिक्री

उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार  बिक्री


उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार  बिक्री भएको छ ।

विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले  सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताउनुभयो । स्थानीयवासी देवबहादुर मगरले भन्नुभयो, “२०५० सालतिर देखिनै गाउँमा बेसार खेती सुरु भएको हो ।  २०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रुपमा नै बेसार खेती गर्न थालेपछि अहिले गाउँनै बेसार खेतीमय भएको छ ।”

उहाँका अनुसार अहिले गाउँबाट वार्षिक दुई करोडभन्दा बढीको बेसार  बिक्री हुने गरेको छ । अर्का कृषक इन्द्रबहादुर मगरले  अनुसार नयाँ आधुनिक प्रजातिको सुगन्धा बेसार उत्पादन हुन थालेपछि खेती र उत्पादनमा वृद्धि भएको छ । उहाँले एक घरले वार्षिक झण्डै तीन लाखभन्दा माथि बेसार उत्पादन गरेर बिक्री गर्ने गरेको बताउनुभयो । 

किसान सन्तबहादुर मगरले २०७३ सालदेखि यस क्षेत्रको बेसार मङ्सिर पुस महिनातिरनै विराटनगरका व्यापारीले  खरिद गर्न आउने गरेको जानकारी दिनुभयो । पछिल्लो समय सिद्धिपुरवासीको आर्थिक आम्दानीको स्रोतनै बेसार भएको चौदण्डी–६ का वडासदस्य देवी मगरले बताउनुभयो । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले उदयपुर जिल्लामा ५५९ हेक्टर क्षेत्रफलमा बेसार उत्पादन हुँदै आएको छ ।

केन्द्रका सूचना अधिकारी तथा अधिकृत फूलमाया शेर्पाले सबैभन्दा बढी बेसार उत्पादन पाकेट क्षेत्रको रुपमा सिद्धिपुर क्षेत्र रहेको बताउनुभयो । यसैगरी त्रियुगा नगरपालिकाको साउने, खाँबु, रौतामाई गाउँपालिकाको आँपटार, उदयपुगढी गाउँपालिकाको भलायाडाँडा, डुम्रेसहित कटारी नगरपालिकाको रिस्कु सोमबारे र बेलका नगरपालिकाको मैनामैनी महत्वपूर्ण बेसार उत्पादन क्षेत्र रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।