चितवन–आदिवासी जनजातिको भाषा, संस्कृति प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिने भएको छ। आगामी चैत ९ गतेदेखि १८ गतेसम्म नारायणी नदी किनारामा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो।
आदिवासी जनजाति महासङ्घको आयोजनामा हुन लागेको महोत्सवको तयारी भइरहेको आज यहाँ पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । महोत्सवमा तीन सय प्रदर्शनी कक्ष रहने छन्। भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको महासङ्घ चितवनका अध्यक्ष एवम् मेलाका संयोजक महेन्द्र दुराले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो “आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षण गर्न महोत्सवको आयोजना गरिएको हो। यसले भरतपुर भ्रमण वर्षको प्रवर्द्धनमासमेत टेवा पुर्याउने लक्ष्य लिएका छौँ ।” महोत्सव अवधिमा दैनिकजसो १७ वटा जातीय सांस्कृतिक प्रदर्शनी हुने छन् । चितवनमा हाल ४० आदिवासी जनजाति समुदायको बसोबास रहेको सो अवसरमा जानकारी दिइयो। तीन लाख ३२ हजार भन्दाबढी आदिवासीको बसोबास रहेको चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको महोत्सवले आदिवासी संस्कृतिको संरक्षणसँगै पहिचानमासमेत सहयोग पुग्ने उहाँको अपेक्षा छ।
महोत्सव दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र एक करोडको कारोबार हुने लक्ष्य लिइएको छ । चितवनको कूल जनसङ्ख्याको ४६ प्रतिशत आदिवासी जनजातिको जनसङ्ख्या छ। चितवनमा थारु, दराई, कुमाल, तामाङ, बोटे, चेपाङ, मगर, गुरुङ, थकाली, नेवार, दुरा, राई, लिम्बू, भुजेल, ह्योल्मो, बराम लगायतका जनजाति छन्।
चितवनमा बसोबास गर्दै आएका आदिवासी जनजाति समुदायको जातिगत गतिविधिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नका लागि पनि महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । चितवन र आसपासका क्षेत्रभित्रका सांस्कृतिक विविधताको संरक्षण गरी समग्र जिल्लाकै आर्थिक, सामाजिक, पर्यटन, कृषि, घरेलु उद्योग, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्नको लागि पनि महोत्सवले मुख्य भूमिका खेल्ने विश्वास लिइएको छ।
सांस्कृतिक जागरणसँगै विभिन्न जातजाति, वर्ग र समुदायबिच सद्भाव एवम् भ्रातृत्व अभिवृद्धिका लागि पनि ठुलो योगदान पुग्ने महासङ्घका सल्लाहकार पदम गुरुले बताउनुभयो । महोत्सव सम्पन्न गर्न करिब ८० लाख खर्च हुने अनुमान छ। रासस






प्रतिक्रिया