काठमाडौँ– आज ग्याल्पो ल्होसार पर्व देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछन् ।
भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन थालिएको हो । विगतमा हिमाली जिल्लामा मात्रै मनाइने यो पर्व अहिले देशैभरि फैलिएको छ । शेर्पा समुदायको उपस्थिति भएका सबैजसो जिल्लामा धूमधामका साथ यो पर्व मनाउने गरिएको छ ।
ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।






प्रतिक्रिया