अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आलोपालो प्रधानमन्त्री हुने कुनै सम्झौता भएको छैन: अध्यक्ष ओली

आलोपालो प्रधानमन्त्री हुने कुनै सम्झौता भएको छैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री आलोपालो प्रधानमन्त्री हुनेबारे गठबन्धनभित्र कुनै सम्झौता नभएको प्रष्ट पार्नुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको प्रस्तावप्रति समर्थन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो। उहाँले आफूलाई अब प्रधानमन्त्री बन्ने इच्छासमेत नभएको प्रष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘नयाँ सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्री हुनका लागि अलिखित सहमति भएको भन्ने गलत प्रचार गरिएको छ। हामी पदलोलुप छैनौँ। को कति सरकारमा बस्छ भन्ने ठूलो कुरा पनि होइन। सरकारमा भएका बेला देश र जनताका पक्षमा राम्रो काम गर्ने भन्ने हो। मलाई प्रधानमन्त्री हुने कुनै लालसा छैन। देशका समस्या समाधान गर्ने सवालमा सत्ता पक्ष र विपक्ष सँगै बसेर छलफल गरेर जाऔँ । बेथिति रोकौँ, आर्थिक उन्नतिमा मुलुकलाई लैजाऔँ।’

अध्यक्ष ओलीले अघिल्लो गठबन्धनको नेतृत्व गर्दा नेपाली कांग्रेसले आफूहरुसँग कुरा गर्नसमेत नचाहेको तथ्य पनि खोल्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेसलाई बसेर कुरा गरौँ न सही रुपमा भनेर भनेको । वर्णाश्रम व्यवस्थामा भात दाल चल्दैन भनेझैँ एमालेसँग कुरा चल्दैन रे कांग्रेसको । शेरबहादुरजीलाई फेरि पनि भन्न चाहन्छु । बसौँ न कुरा गरौँ न।’

उहाँले प्रतिपक्षी दल कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने बताउनु भयो । ’प्रधानमन्त्रीले नयाँ समीकरण बनाउनुपर्नका कारणबारे भनेका कुराहरू चित्तबुझ्दा छन । पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेसले भोट नै नमागिकन, हतारिएर, हौसिएर समर्थन गरेको थियो । अहिले चाहि किन समर्थन नगर्ने ?,’ ओलीले भन्नुभयो ।