धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको बोलेरो जीप उदयपुरको चुहारमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ।
घटनास्थलमा उद्धारका क्रममा अर्का यात्रुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिनुभयो। यससँगै ज्यान गुमाउनेको संख्या ७ पुगेको उहाँले बताउनु भयो।
प्रहरीका अनुसार दुर्घटनाका ज्यान गुमाउनेहरूमा जीप चालक रमेश बस्नेतसहित छन्। मृतकहरूमा ३ जना पुरुष, ३ महिला र एक जना नाबालक छन्।
घटनास्थलबाट स्थानीयबासी र प्रहरीले अन्य ८ यात्रुको उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो । घाइतेहरूलाई सप्तकोसीमा चल्ने जेटबोटबाट चतरसम्म लगिएको उहाँले बताउनु भयो।
धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहीबार बिहान करिब ११ बजे उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटनामा परेको थियो।
घटनास्थल भोजपुरको सीमाक्षेत्र नजिकै पर्छ। जीपमा अधिकांश यात्रु भोजपुरकै आमचोक र हतुवागढी गाउँपालिकाका छन् ।






प्रतिक्रिया