अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनःलेखन गर्न एमाले उपाध्यक्ष पौडेलको आग्रह

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनःलेखन गर्न एमाले उपाध्यक्ष पौडेलको आग्रह


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन गर्न आग्रह गर्नुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाई आर्थिक मन्दीबाट मुलुकलाई मुक्त गरी रोजगारी र उत्पादन बढाउने ढङ्गले पुनःलेखन गर्न आग्रह गर्नुभएको हो । यसअघिको सत्ता गठबन्धनका तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त प्राथमिकता पेस गर्नुभएकामा हाल नयाँ अर्थमन्त्री नियुक्त भएको स्थितिमा पनि यसलाई तदअनुरुप बनाउन उहाँको आग्रह रहेको छ।

“सिद्धान्त र प्राथमिकताले संविधानको प्रस्तावनाबमोजिमको समाजवादोन्मुख अवधारणालाई महत्व दिन सकेको छैन । समाजवाद शब्दलाई नै जानबुझेर प्रयोग नगरी पुँजीवाद सोचमा लाने खालको देखिन्छ”, नेता पौडेलले भन्नुभयो । उहाँले अर्थतन्त्रका सूचकहरू पनि सहीरूपमा नआएको भन्दै लक्ष्यको आधाभन्दा कम आर्थिक वृद्धि हुने स्थिति हुँदा अर्थतन्त्र सुधारमा छ भनिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो।