कावासोती-नवलपुरमा सुन्तलाजातको फलफूल खेतीको बिस्तार ह्वातै बढेको छ। परम्परागत रुपमा हुँदै आएको सुन्तला जातको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरु भएपछि जिल्लामा यो खेतीको बिस्तार झण्डै दुई गुणाले बढेको हो। पाँच वर्ष अगाडि ३३१ हेक्टरमा भएको यो खेती आयोजना शुरु भएपछि ८१८ हेक्टरमा बिस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन इकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले जानकारी दिनुभयो।
परियोजनाले बुलिङटार , बौदीकाली गाउँपालिका, हुप्सेकोट-५, देवचुली–६, मध्यविन्दु ८ र १५ वडा गैंडाकोट गाउँपालिकाको १८ नम्बर वडा सहित १७ वटा वडामा सुन्तलाजात फलफुलका लागि जोन कार्यक्रम सञ्चालनमा रहेको छ। त्यस्तै हुप्सेकोट गाउँपालिकाको वडा-१,२,३ र ४ कावासोती नगरपालिकाको ४, ९, १०, १२, १५, १६ र १७ वडा र मध्यविन्दु नगरपालिकाको १,२,३,६ र ९ सहित १६ वटा वडामा तरकारी जोन कार्यक्रम लागु भएको छ । २०७५/०७६ मा सुन्तलाजात र २०७६/०७७ मा तरकारी जोन कार्यक्रम शुरु भएको हो।

५ सय १२ हेक्टरमा भएको तरकारी खेती परियोजना शुरु भएपछि ७८० हेक्टरमा बिस्तार भएको छ। सुन्तलाजातमा भन्दा तरकारी जोनमा किसानहरुले प्रतिफल लिन थालेका छन्। वार्षिक रुपमा ६ वटा समूहले रु एक करोड भन्दा माथि तरकारीको कारोवार गरेका छन्। ८ वटा समूहले रु ५० लाख माथि, ८ वटा समुहले रु २० लाख माथि, ८ वटा समुहले रु १० लाख माथिको कारोबार गरेको वरिष्ठ कृषि विकास अधिकृत सिंहले बताउनु भयो। सुन्तलाजातमा प्रतिफल लिन समय लाग्ने भएकाले पाँच बर्ष पछि उत्साहजनक प्रतिफल आउने कृषि अधिकृत रणबहादुर महत्तोले जानकारी दिनुभयो।
किसानहरुलाई परियोजनाले उत्पादन बृद्धि, लागत न्यूनिकरण, मुल्य श्रृखला अभिबृद्धिका क्षेत्रमा सहयोग गर्दै आएको छ वरिष्ठ कृषि विकास अधिकृत सिंह भन्नभयो, ‘जिल्लालाई बिरुवामा आत्मनिर्भर बनाएका छौं यस वर्ष तीन वटा नर्सरीबाट ९० हजार विरुवा उत्पादन हुन्छ।’
पहाडी क्षेत्रमा सुन्तला र कागतीको उत्पादन बढ्दा बाँझो जमिन हराभरा हुनुका साथै राजगारीको क्षेत्र बढेको बुलिङटारका किसान खेम गेलाङले बताउनुभयो । राज्यका तर्फबाट किसानलाई दीर्घकालिन बाटो देखाउदा उत्पादन बढाउन सकिने उहाँले बताउनु भयो। उहाँले सुन्तलाजातका बिरुवा उत्पादन गर्ने नर्सरी सञ्चालनमा ल्याउनु भएको छ।

नवलपुरमा नौसय ९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन्। परियोजनाले प्रगति समिक्षा गोष्ठीमा १६ वटा कृषक समूहका सदस्य तर्फ १६ जना, ५ वटा नीजि फर्म र एक वटा समूहलाई उत्कृष्ट किसान घोषणा गरी पुरस्कृत गरिएको प्रमुख सुनिलकुमार सिंहले जानकारी दिनुभयो । पुरस्कृत हुनेमा निजी फर्म तर्फ आरजु कृषि फर्म कावासोती–१७,रुद्रपुर कृषि तथा पशुपालन प्रा.लि, बौदीकाली–५,टिकारत्न टुल्की कृषि फर्म गैंडाकोट–१८ प्रेक्षा एग्रो फर्म बुलिङटार–३,र भुसाल कृषि फर्म बुलिङटार–४ छन् ।
समूह सदस्य तर्फ युकबहादुर सारु, प्रेमप्रकाश पोख्रेल, धमलाल सिंजाली, नरबिर मश्राङ्गी, भुवनसिंह सोमै मगर, चन्द्रबहादुर बाचेमगर, नरसिंह सुनारी, पिताम्बर सारु, धनबहादुर थापा, दलबहादुर रानामगर, दानबहादुर गाहा, ओमबहादुर अस्लामी मगर, गुञ्जबहादुर चितौरे, मिलन सारुमगर, देवबहादुर राना र ओमबहादुर झेंडी छन् । उनीहरुलाई जनही रु तीन हजार नगद र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । समुह तर्फ मध्यबिन्दु कागती फलफूल तरकारी उत्पादन कृषक समुह रानीटार पुरस्कृत भएको थियो ।






प्रतिक्रिया