अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपभोक्ता हितका लागि तीनै तहका सरकार सजग हुनुपर्ने : मन्त्री भण्डारी

उपभोक्ता हितका लागि तीनै तहका सरकार सजग हुनुपर्ने : मन्त्री भण्डारी



काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उपभोक्तको हित र अधिकारको संरक्षणका लागि तीनै तहका सरकार सजग हुनु पर्ने बताउनुभएको छ । तीनै तहका सरकारबाट बजार अनुगमन,उपभोक्ता सचेतना जस्ता कार्यक्रम नियमित रुपमा सञ्चालन गरिने प्रतिवद्धता मन्त्री भण्डारीले गर्नुभएको छ ।
विश्व उपभोक्ता दिवशको अवसरमा आज एक मन्तव्य दिंदै मन्त्री भण्डारीले अन्तराष्ट्रिय दिवसले हामी उपभोक्तालाई सचेत बनाउदै स्वच्छ बजारका माध्यमबाट गुणस्तरीय बस्तु तथा सेवामा उचित मूल्यमा उपभोग गर्न पाउने मौलिक हकको कार्यान्वयनलाई सुनिश्चित गराउन बल पुर्याउने बताउनुभयो । ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपालको संविधानमा उल्लेखित उपभोक्ताका मौलिक हक , उपभोक्ताको हित संरक्षणसँग संम्बन्धित उपभोक्ता अदालत गठन लगायतका कानुनहरु निर्माण गर्न र अदालतका फैसलाहरुको प्रभावकारी कार्यन्वयन गर्न प्रतिवद्ध छ’ मन्त्री भण्डारीले मन्त्व्यमा भन्नुभएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रीको अनुपस्थितीमा उहाँको लिखित मन्तव्य पढेर सुनाइएको थियो । मन्त्री भण्डारी कामको शिलशिलामा सुदुरपश्चिम प्रदेशमा हुनुहुन्थ्यो । मन्त्री भण्डारीको लिखित मन्तव्य यस्तो छ :

माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको मन्तब्य
विश्व उपभोक्ता दिवस २०८० को अवसरमा आयोजित यस कार्यक्रमका अध्यक्ष ज्यू, प्रमुख अतिथि प्रतिनिधी सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति माननीय अब्दुल खानज्यू, मन्त्रालयका सचिवज्यूहरु, सहसचिव तथा विभागीय प्रमुखज्यूहरु, उपभोक्ता परिषदका पदाधिकारीज्यूहरु, उपभोक्ता अधिकारकर्मीज्यूहरु, निजी क्षेत्रका उद्योग व्यवसायी प्रतिनिधिहरुज्यूहरु, सञ्चारकर्मी मित्रहरु, मन्त्रालय तथा विभागका समस्त कर्मचारी साथीहरु । सर्वप्रथम विश्व उपभोक्ता अधिकार दिवस २०८० को अवसरमा म समस्त उपभोक्ता तथा सरोकारवालामा हार्दिक शुभकामना ब्यक्त गर्दछु । कामको सिलसिलामा उपत्यका बाहिर रहेकोले मन्त्रालयमा आयोजित यस महत्वपूर्ण कार्यक्रममा यहाँहरु समक्ष प्रविधिको माध्यमबाट जोडिएको छु । म कार्यक्रमका प्रमुख अतिथीज्यू लगायत सम्पूर्ण महानुभावहरुलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।
हामी सबै उपभोक्ता हौँ । हरेक वर्ष मार्च १५ का दिनमा मनाइने विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि स्वच्छ र प्रतिस्पर्धी बजार स् उपभोक्ताको सार्वभौम अधिकार भन्ने नाराका साथ मनाईरहेका छौं । यो अन्तराष्ट्रिय दिवसले हामी उपभोक्तालाई सचेत बन्दै स्वच्छ बजारका माध्यमबाट गुणस्तरीय बस्तु तथा सेवामा उचित मूल्यमा उपभोग गर्न पाउने मौलिक हकको कार्यान्वयनलाई सुनिश्चित गराउन बल पुर्याउँछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपालको संविधानमा उल्लेखित उपभोक्ताका मौलिक हक , उपभोक्ताको हित संरक्षणसँग संम्बन्धित उपभोक्ता अदालत गठन लगायतका कानुनहरु निर्माण गर्न र अदालतका फैसलाहरुको प्रभावकारी कार्यन्वयन गर्न प्रतिवद्ध छ । यस विषय विगतमा भएका प्रयासहरुको समीक्षा, पुनरावलोकनको साथै आगामी दिनमा रणनीतिक कार्ययोजना तर्जुमा गरि कार्यन्वयन गरिनेछ ।
उपभोक्ताको अधिकार प्रचलन गराउन हामी प्रतिवद्ध छौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्ता हित संरक्षणका लागि सरकारले तिनै तहका सरकारको जिम्मेवारी र जवाफदेहिता सहितको आपूर्ति तथा उपभोक्ता हित संरक्षण नीति जारी गर्नेछ । सो सिलसिलामा उपभोक्ताको हित संरक्षणमा बिसयमा काम गरिरहेका सरोकारवालालाई साथ लिएर स्वच्छ बजार तथा उपभोक्ता हित सम्बन्धि कामलाई परिणाममुखी बनाईनेछ। साथै, तिनै तहका सरकारबाट नियमित बजार अनुगमन, उपभोक्ता शिक्षा, उपभोक्ताको उजुरी तथा गुनासो ब्यबस्थापन गरिनेछ ।
मन्त्रालयले उपभोक्ता ठगी, कृतिम अभाव, अनुचित मूल्य वृद्धि र अनुचित ब्यापारीक काम लाई नियन्त्रण गर्न जोखिम तथा सूचना प्रणालीमा आधारित अनुगमन प्रणालीलाई व्यवस्थित र नतिजामुखी बनाउने छ । निरीक्षण अधिकृतहरु खटाउने, विद्यालय स्तरमा उपभोक्ता शिक्षाको प्रबन्ध गर्ने, अन्तर निकाय समन्वयलाई सुदृढ बनाउने, आम संचारका साधनहरुको माध्यमबाट सचेतना अभिबृध्दि र उपलब्ध साधन श्रोतको प्रभावकारी परिचालन गरि उपभोक्तालाई सबल र अधिकार सम्पन्न बनाउन आवश्यक नीतिगत, कानुनी र कार्यक्रमगत व्यवस्था मिलाउन तदारुकताका साथ काम गर्नेछ ।
व्यवसायिक नैतिकता सहितको उत्पादन तथा विक्रि वितरण व्यवस्था वातावरण निर्माण गरी आर्थिक गतिविधिलाई तीब्रता दिनु अहिलेको प्राथमिकता हो । उपभोक्ताको संरक्षणको विषयमा कुनै संझौता नगरी स्वच्छ बजारका माध्यमबाट अर्थतन्त्रको आधारशीला रहेको उद्योग वाणिज्य क्षेत्रको विकासमा हामी सबै एकजुट भई लागौं । पुन समस्त उपभोक्तालाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।