काठमाडौं -बरिष्ठ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल राष्ट्र बैंकले टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरेको छ।
चैत ६ देखि लागू हुने गरी आचार्यलाई सेवाबाट हटाइएको स्रोतले बतायो।
राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले उनलाई कर्मचारी विनियमावली अनुसार हटाएको छ राष्ट्र बैंक श्रोतले पुष्टि गरेको छ ।
पटक–पटक कर्मचारी अनुशासन उल्लंघन गरेको भन्दै आचार्यलाई सेवाबाट हटाइएको हो। थानेश्वर आचार्यले आफूलाई दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेर वरिष्ठ महिला कर्मचारीले प्रशासनसमक्ष उजुरी दिनुभएको थियो।
आचार्यले गत २७ पुसमा केन्द्रीय बैंकका उच्च अधिकारीको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममै उनीमाथि दुर्व्यवहार गरेका थिए। ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो।
आचार्यले यस अघि स्वदेश तथा विदेशमा पनि यस प्रकारका वितण्डा मच्चाएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । यस्तै प्रकरणमा आचार्यलाई क्यानडा प्रवेशमा रोक लगाइएको विश्वस्त सुत्रले जनाएको छ ।
छानबिन क्रममा दोषी देखिएका आचार्यलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सेवाबाट हटाएको हो।
राष्ट्र बैंकको टक्सार महाशाखामा कार्यरत आचार्यमाथि आरोप लागेसँगै उनलाई जिम्मेवारीविहीन बनाइएको थियो।






प्रतिक्रिया