अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होली पर्वले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग गर्छ: अध्यक्ष ओली

होली पर्वले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग गर्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागु पूर्णिमा (होली पर्व)ले सबैलाई सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न योगदान पुगोस् भनेर शुभकामना दिनुभएको छ।

शनिवार मधेश प्रदेश सम्पर्क कमिटिले आयोजना गरेको होली मिलन कार्यक्रममा उहाँले जहाँ भएपनि, जुन भूगोलमा बसे पनि सबैको उद्देश्य नेपाल समृद्ध बनाउनु भएको भन्दै होलीको सन्देशले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्ने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न सहयोग पुर्याउँछ। राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ। हामी सबैलाई यस्तै प्रेरणा मिलोस भन्ने शुभकामना दिन चाहन्छु। हामी जहाँ भएपनि जुन भूगोलमा बसे पनि सबैको उद्देश्य भनेको नेपाल समृद्ध हुनुपर्छ, हामी नेपाली समृद्ध हुनुपर्छ। होलीको सन्देशले यो कुरामा बल पुराओस, त्यसका लागि राष्ट्रिय एकता मजबुत बनाओस्।’

अध्यक्ष ओलीले होलीलाई विकृत बनाउन नहुने बताउनु भयो । उहाँले होलीका नाममा देखिएको छाडापन र विकृतिलाई रोक्नु पर्ने बताउनुभयो।

होली हर्षोल्लास र गीत, सङ्गीतको पर्व भएकोले त्यसलाई सोही रूपमा मनाउनु पर्नेमा उहाँले जोड दिनुभयो। होलीको नाममा कसैमाथि जबरजस्ती गर्नु नहुने तर्फ उहाँले सचेत गराउनुभयो । ‘होलीको सुरु नै सरररबाट हुन्छ, उत्साहबाट, उमङ्गबाट, हौसलाबाट, यसरी होली सुरु हुन्छ’, उहाँले भन्नुभयो।

होली मित्रताको पर्व भएकोले यसलाई विकृत हुन दिनु नहुने तर्फ उहाँले सचेत गराउनुभयो। ‘अनुचित पक्षलाई कटाउँदै, हटाउँदै लैजानुपर्छ, यसका राम्रा पक्ष, मित्रताका पक्ष, रमाइलाको पक्ष, मनोरञ्जनका पक्ष, सामाजिक मर्यादाका सीमा भित्र रहेर मनोरञ्जनका पक्षलाई बढवा दिएर लानु पर्छ’, उहाँले भन्नुभयो।

नेपालका पर्व र संस्कृति सामाजिक सम्बन्धसँग जोडिएको उहाँले बताउनुभयो। पर्व र संस्कारले समाजको सुप्रबन्धसँग जोडिएको उहाँको भनाइ छ।

उहाँले होली खेल्दा अबिरसँग सतर्क भएर खेल्न आग्रह गर्नुभयो। स्वास्थ्य र आर्थिक पक्षमा ध्यान दिएर होली खेल्न उहाँले सुझाव दिनुभयो । पर्वको सन्दर्भ पारेर अनेक खर्च नगर्न पनि उहाँले आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले होलीले सभ्य शान्तिपूर्ण र एकताबद्ध समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । होलीको सन्देशले सुखी नेपाली समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।