अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फागुनयता ताप्लेजुङमा सोह्र घर जलेर नष्ट

फागुनयता ताप्लेजुङमा सोह्र घर जलेर नष्ट


ताप्लेजुङ-ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन्। सुख्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन्।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार फागुनदेखि चैत १० गतेसम्ममा वनमा लागेको डढेलोबाट १२ र अन्य कारणबाट चार घर जलेर नष्ट भएका छन्।

वनमा लागेको डढेलोका कारण चैतको पहिलो साता मात्रै ११ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । अन्य कारणबाट चैतमा एउटा घर जलेको छ।

फागुनमा डढेलोले एक र विद्युत् सर्ट भएर सल्केको आगोले तीन घर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो। उहाँका अनुसार डढेलो र अन्य कारणले सुरु भएको आगोले झण्डै डेढ दर्जन घर जलेका छन्।

प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार घरसँगै नजिक रहेका पशुचौपायाका गोठ तथा ग्वालीसमेत जलेका छन् भने केही पशुचौपाया पनि जलेका छन्। 

यसैगरी फागुनयता विभिन्न क्षेत्रमा गरी करिब एकदर्जन ठाउँका वनमा डढेलो लागेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ। राष्ट्रिय तथा सामुदायिक वनमा लागेको डढेलोका कारण रुख, बोट, बिरुवा तथा बहुमूल्य जडीबुटी र वनस्पतिमा क्षति पुगेको वन कार्यालयले जनाएको छ। 

फागुनदेखि चैतको पहिलो हप्तासम्ममा करिब आठ सयदेखि एक हजार हेक्टर क्षेत्रफल बराबरको वन जङ्गलमा डढेलो लागेको सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो।