अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक विस्तारसँगै सुनसान बन्दै बागलुङका गाउँ

सडक विस्तारसँगै सुनसान बन्दै बागलुङका गाउँ


बागलुङ-हिजोआज सडक नपुगेका बस्ती छैनन्। कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन्। मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो बाटोमा वनमारा पलाउनुका साथै काँडा उम्रिएका छन् । कुनै समय मानिस र वस्तुभाउ हिँड्ने गोरेटो अहिले सुनसान जस्तै बनेका छन्।

बागलुङको दुर्गम मानिने ढोरपाटन क्षेत्रमा पनि अहिले धेरै ठाउँमा सडक पुगेको छ। एक दशक अगाडि पर्यटक तथा भक्तजनको घुइँचो हुने फल्लेघरबाट देउरालीसम्मको गारेटो बाटो अहिले झाडी बन्न थालेको छ। योसँगै जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सयौँ गोरेटो बन्द हुँदै गएका छन्।

ढोरपाटन नगरपालिका-९ का वीरबहादुर सुनारले सुविधाले पुराना गोरेटो मासिएको बताउनुभयो। सडकले धेरै ठाउँका गोरेटोबाटो मासेको भन्दै भएका ठाउँमा पनि कोही नहिँड्ने उहाँको भनाइ छ। 

सुनारले पाका पूर्खादेखि हिँड्दै आएका बाटोलाई विकासले ओझेलमा पारेको भन्दै पुराना गोरेटोलाई पदमार्गका रुपमा विकास गर्नुपर्ने बताउनुभयो। विकासका नाममा जथाभावी सडक निर्माण हुँदा गोरेटोसहित पुराना मौलिक सम्पदासमेत मासिएको उहाँको भनाइ छ। 

'हाम्रो पालामा मोटर गाडी थिएनन्। अहिलेको जस्तो यति ठूला सडक पनि थिएनन्। बटौली, तानसेन पुगेपछि मात्रै गाडी देख्न पाइन्थ्यो। साँघुरो बाटोमा यात्रा गथ्र्यौँ। उतिबेला हामीहरु हिँडेका बाटो अचेल बन्द छन्', सुनारले भन्नुभयो, “कतै मोटरबाटोले पुरिएका, कतै अप्ठ्यारा बनेका छन्। ती गोरेटोहरु प्रयोगविहीन भएका छन्। सरकारले पुरानो बाटोलाई व्यवस्थित पदमार्ग बनाउन सके बाहिरबाट आउने आगन्तुकलाई सहज हुने थियो।'

तमानखोला गाउँपालिका-१ का जितबहादुर घर्तीले मोटरबाटोले मान्छेलाई अल्छि बनाएको बताउनुभयो। पहिले घण्टौँ लगाएर हिँड्नेहरु अहिले १० मिनेटको दूरीमा पनि गाडी चड्न खोज्ने उहाँको भनाइ छ। 

मोटरबाटोले गोरेटोबाटोसँगै कुवा, पोखरी, पानीको मुहान र चौपारी सबै विनाश गरेको घर्तीले बताउनुभयो । पहिले बजारबाट सामान ढुवानी गर्न घोडा, खच्चड प्रयोग गर्ने गरेको स्मरण गर्दै उहाँले अहिले गाडीमा ओसारपसार गर्न थालेको बताउनुभयो। 

गोरेटोबाटो ग्रामीण जीवनशैलीसँग जोडिएको भए पनि अव्यवस्थित विकासले अस्तित्व नै धरापमा परेको घर्तीको भनाइ छ। 'मोटरबाटोले धेरै सुविधा ल्याएको छ। दिनभरी हिँडेर पुग्ने ठाउँमा अहिले एक घण्टामै पु¥याउँछ। सामान बोक्ने समस्या अन्त्य भएको छ। यसले अहिले हिँड्ने बानी पनि हटेको छ', उहाँले भन्नुभयो, 'हामी सानो हुँदा गाउँमा गारेटोबाटो मात्रै थिए। मान्छेहरु टाढा जानु परे पैदल यात्रा गर्नुपथ्र्यो। अहिले त्यहीँ ९तलतिर० जाँदा पनि गाडी चाहिने, जुग जमाना फेरिएपछि गाउँका बाटाघाटा पनि फेरिएका छन्।'