अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

को हुन् राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित घिमिरे ?

को हुन् राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित घिमिरे ?


काठमाडौं-राजनीतिमा लागेको ३३ वर्षपछि घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष पदमा पुग्नुभएको हो। विमला घिमिरे नेपाली राजनीतिमा चर्चित नाम हो। उहाँ जनस्थरमा स्थापित व्यक्तित्व हो। यो हिसाबले उहाँले उपाध्यक्षको कार्यभार राम्रोसँग सम्हाल्न सक्नुहुन्छ। राष्ट्रिय सभाको उपाध्यक्ष भन्दा ठूलो जिम्मेवारी दिए पनि सम्हाल्न सक्ने अनुभव भएको व्यक्तित्व हो।

राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित हुनुभएको छ। बुधबार राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो। मतदानमा ५५ सदस्य सहभागी भएका थिए। घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत मात्रै पाउनु पाउनु भयो।

घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मत दिएका थिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए ।

२०७६ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा घिमिरे लुम्बिनीबाट विजयी हुनुभएको थियो। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार ३३८ मत प्राप्त गर्दै उहाँले काँग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गर्नुभएको थियो। कपिलवस्तुको वाणगंगा निवासी घिमिरेको जन्मस्थान भने अर्घाखाँची जिल्ला हो।

२०४७ सालमा अनेमसंघ हुँदै राजनीति प्रवेश गरेकी घिमिरे २०७८ सालमा नेकपा (एमाले) केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो। त्यस्तै उहाँ तत्कालीन नेकपाको केन्द्रीय सदस्य,  २०६८ मा नेकपा एमालेको कपिलवस्तु जिल्ला कमिटी सचिव, २०६६मा पार्टी जिल्ला कमिटी उप सचिव, २०६२ मा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य र २०५९ मा जिल्ला कमिटी सदस्य भएर काम गरेकाे उहाँसँग अनुभव छ।

अनेमसंघमा रहँदा उहाँ जिल्ला कमिटी सचिव, पार्टी इलाका कमिटी सदस्य, अनेम संघ जिल्ला सचिव भएर समेत काम गर्नुभएको थियो।

घिमिरेसँग राष्ट्रिय प्रतिनिधि परिषद्, पार्टी केन्द्रीय स्कुल विभाग, अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीमा रहेर काम गरेको अनुभव छ।