विराटनगर-झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेरको शरीरमा लागेको गोली निकालिएको छ। कक्षा-१२ को परीक्षा दिएर फर्किँदै गरेकी एनिकाको आज दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए।
एनिकाको नाभि छेउमा गोली लागेको थियो। दमस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन्। एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत थिइन्।
एनिकाको अवस्था खतरामुक्त रहेको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले बताउनु भयो। उहाँले भन्नुभयो, ‘डाक्टरका अनुसार नानीको अवस्था खतरा मुक्त रहेको छ। गोलीले आन्द्रामा नछोएकाले उपचारमा सहज भएको जानकारी पाएको छु।’
प्रअ श्रेष्ठका अनुसार उदयपुरकी एनिका ११ कक्षामा अध्ययन गर्न सो विद्यालयमा आएकी थिइन्। घटनामा संलग्न भनिएका यादवले उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए। एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन्।
अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ। भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक-दुई पटक भेट्न आएको भनेकी छिन्।
प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छन्। यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ।
गोली हान्नुको बाँकी कारण खुलिसकेको छैन।






प्रतिक्रिया