अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सत्ताका लागि ‘पानी बिनाको माछा’ जस्तै छटपटाइरहेको छः शंकर पोखरेल

कांग्रेस सत्ताका लागि ‘पानी बिनाको माछा’ जस्तै छटपटाइरहेको छः शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस सत्ताका निम्ति ‘पानी बिनाको माछा’ जसरी छट्पटाइरहेको बताउनु भएको छ।

नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलालाई आइतबार टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले सत्ता गुमाएको कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाइरहेको बताउनु भएको हो।

नेपाली कांग्रेसलाई यी कुरामा चासो नभएको उहाँले बताउनुभयो। ‘नेपाली कांग्रेस आफ्नो नीतिको जगमा पार्टी स्थापित गर्न सकिन्छ भन्ने कुराबाट विचलित भएको देखिन्छ, ऊ एक प्रकारले सत्तालाई पानीको माछो जस्तै ठान्छ, सत्ता भएन भने छटपटाउने गर्दछ’, उहाँले भन्नुभयो।

एमालेले खुसी खुसी सत्ता छाड्ने गरे पनि कांग्रेसलाई सत्ता छाड्दाको पीडा निक्कै गहिरो हुने महासचिव पोखरेलले बताउनुभयो। आफैंले प्रधानमन्त्री बनाउन बोकेर हिँडेको मान्छे आज गृहमन्त्री हुँदा कांग्रेसले संसद् अवरुद्ध गरिरहेको पोखरेलको भनाइ छ। हिजो राष्ट्रका गम्भीर मुद्दामा संसद् अवरुद्ध गर्दा एमालेलाई गाली गर्ने कांग्रेस आज सामान्य उजुरी परेको विषयलाई लिएर संसद् अवरुद्ध गर्ने ठाउँमा पुगेको उहाँले बताउनुभयो।

नेपालमा समाजवादका विरुद्ध धेरै बौद्धिक व्यक्तित्वलाई प्रयोग गरिएको उहाँले बताउनुभयो। पश्चिमाहरूको रणनीतिक योजना अनुसार यो काम भइरहेको पोखरेलको भनाइ छ। यसको असर नेपाली समाजमा पर्ने भएकोले सचेत रहन उहाँले बौद्धिक वर्गलाई आग्रह गर्नुभयो। एसियाली ज्ञान र सिद्धान्तलाई कमजोर बनाएर युरोपेली ज्ञान, सिद्धान्तको आधारका विश्वविद्यालय शिक्षालाई अघि बढाउने काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो।

पश्चिमा भन्दा एसियाली ज्ञान र सिद्धान्त निक्कै रचनात्मक भएको उहाँको धारणा छ। तर पश्चिमा दर्शनले यसलाई मार्ने काम गरिरहेकाले एसियाली र नेपालको मौलिकता हराउँदै गएको पोखरेलले बताउनुभयो । ‘नेपाली समाजको विकासको चरित्र आफ्नै प्रकारको विशिष्ट र मौलिक चरित्रको छ’, उहाँले भन्नुभयो।

मातृ शक्तिको उपासनाको परम्परा नेपालको हरेक समुदायमा रहेको उहाँले बताउनुभयो। त्यो नेपालको आफ्नै मौलिक संस्कृति र परम्परा रहेको पोखरेलले स्पष्ट पार्नुभयो । नेपालको आफ्नो मौलिक पक्षलाई सिर्जनात्मक बनाउने कुरामा बुद्धिजीवी वर्ग लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

औद्योगिक क्रान्तिले पुँजीवादको विकास भएसँगै त्यसको सबैभन्दा ठुलो प्रभाव एसियामा परेको उहाँले बताउनुभयो । पश्चिमा जगत् खास गरी अमेरिका एसियालाई आर्थिक रूपमा कमजोर बनाउन निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।

चीन र भारतले आर्थिक रूपमा गरिरहेको प्रगति रोक्न अमेरिका लागि रहेको उहाँले बताउनुभयो । त्यसैले यी दुई देश बिचको कमजोर राष्ट्र नेपाललाई अमेरिकाले प्रयोग गर्न चाहिरहेको उहाँको धारण छ । ‘नेपालमा बलियो सरका निर्माण भयो भने उनीहरूका स्वार्थ पुरा हुन सक्दैन, त्यस अर्थमा उनीहरू नेपालका राजनीति अस्थिरता सिर्जना गरिराख्न अनेक तरिका अपनाउने गर्दछन्, जसका लागि सबैभन्दा बढी बौद्धिक वर्गलाई प्रयोग गरिरहेका छन्’, पोखरेलले भन्नुभयो।

दक्षिण एसियामा अस्थिरता कायम राख्न नेपालमा राजनीतिक अस्थिरता कायम गर्ने काम भइरहेको उहाँले बताउनुभयो। नेपालको अस्थिरतासँग दक्षिण एसियाको भविष्य समेत जोडिएको प्रति उहाँले ध्यानाकर्षण गराउनुभयो।

नेपालको राजनीति भित्र राजनीतिक अस्थिरता र सामाजिक अराजकताको स्थिति देखिएको उहाँले बताउनुभयो । समाजलाई बलियो बनाउन अब विरोध र विद्रोह होइन निर्माणमा लाग्नु पर्छ भन्ने धारणा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

धर्मान्तर र धार्मिक अतिवादीले पनि नेपालको मौलिक संस्कृति माथि अतिक्रमण गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । नेपाली मौलिक संस्कृतिलाई जोगाइ राख्ने कुरा नेपाली समाजको चुनौतीको विषय बनेको उहाँले स्पष्ट पार्नुभयो।

नेपालको आर्थिक विकास र आर्थिक क्रियाकलापको संकट पनि त्यतिकै चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो। विश्व अर्थतन्त्रको कारण हामी समस्यामा छौँ भनेर मनोगत कुरा गरेर उम्कन नमिल्ने उहाँले उहाँले स्पष्ट पार्नुभयो। भारत र चीन आर्थिक संकटमा नपरेको अवस्थामा नेपाल संकटमा छ भन्ने कुरा आफ्नो अयोग्यतालाई छेक्ने कुरा मात्र भएको पोखरेलले बताउनुभयो।

शक्ति केन्द्रहरूले अर्थमन्त्रीहरूलाई प्रयोग गरेको नेपालको अर्थतन्त्रलाई कमजोर बनाउने काम गरेका उहाँको दाबी छ। गठबन्धन सरकारका बेलमा वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर व्यक्तिगत स्वार्थमा केन्द्रित रहेर अवैज्ञानिक अर्थतन्त्रलाई बढवा दिने काम भएको र त्यसैले नेपालको अर्थतन्त्र कमजोर भएको उहाँले स्पष्ट पार्नुभयो । ‘नेपालको अर्थतन्त्रलाई नियोजित ढङ्गले कमजोर बनाउने काम भयो’, उहाँले भन्नुभयो।

अवसरवाद र अराजकता आज पार्टी निर्माणको सबैभन्दा ठुलो चुनौती रहेको उहाँले बताउनुभयो । पार्टी र देशलाई संकटबाट बाहिर निकाल्ने आधार भनेकै अवसरवादलाई पराजित गर्दै जनताको बहुदलीय जनवादको मार्गबाट समाजवाद तर्फ अघि बढ्नु भएको पोखरेलले स्पष्ट पार्नुभयो । यसका लागि नेपाली समाजलाई बौद्धिक र नीतिगत बहसमा लैजानु पर्नेमा उहाँले जोड दिनुभयो।

समृद्धिको लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने उहाँले बताउनुभयो। नेपालका ठुला दल भनेका नेकपा एमाले र नेपाली कांग्रेस भएका उहाँले स्पष्ट पार्नुभयो । दुई दलले मिलेर देशलाई संकटबाट मुक्त गर्न सकिने पोखरेलको धारणा छ।

महासचिव पोखरेलले अहिले संयुक्त सरकार भएको कारण एमालेले सोचे जस्तो काम गर्न नसक्ने बताउनुभयो । त्यसैले एमालले एक बहुमतको सरकारको लागि मिसन २०८४ भनेको उहाँले स्पष्ट पार्नुभयो । राजनीतिक परिवर्तन समाज परिवर्तनको लागि हुनु पर्ने बताउँदै पोखरेलले एमालेले त्यसैको लागि समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरेको स्पष्ट पर्नुभयो।