मोरङ-दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका-११ का शमशेरबहादुर कटुवाल घर फर्किनुभएको छ। स्थानीय तहको सक्रियतामा उहाँलाई घर फर्काइएको हो। शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ।
बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उहाँको परिवारको जिम्मा लगाएको छ। कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता हुनुभएको थियो। ‘श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइन, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो’, शमशेरबहादुरकी श्रीमती सीताले भन्नुभयो।
शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो। दुवै जनाबाट छ सन्तान जन्मिए। ‘कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले छ सन्तान हुर्काएँ’, सीताले भन्नुभयो। यसबीचमा परिवारको साथ नपाएपछि उहाँ माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आउनुभएको छ।
शमशेरबहादुर बोल्न सक्नुहुन्न। उहाँ घाँटीको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ। आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ। कटुवालको उपचार गराउन सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउनुहुन्छ।
बिरामी भएपछि कटुवाल सम्पर्कमा आउनुभएको हो। धेरै मेहनतपछि उहाँलाई घर फिर्ता ल्याउन सकिएको वडाध्यक्ष विक्रम राईले बताउनुभयो। ‘कटुवाललाई क्यान्सरबाट मुक्त गर्न सहयोग जुटाउने काम भइरहेको छ’, उहाँले भन्नुभयो।
प्रतिक्रिया