अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित


काठमाडौं-प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ।

आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ। 

आइतबारको बैठक अवरुद्ध नहुनेगरी शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमति जुटेको थियो। 

आज संसद् भवनमा भएको विपक्षी दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिनुहुँदै लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्दा अवरोध नगर्ने र संसदीय छानबिन समिति गठनको टुङ्गो लागेपछि मात्रै संसद्को कार्यसूची अघि बढ्न दिने निर्णय भएको बताउनुभयो।

‘अहिले हामी विपक्षमा रहेका सबै राजनीतिक दलहरुबीच छलफल भएको छ। छानबिन समिति बनाउने विषयलाई सबैले सकारात्मकरुपमा लिएका छौँ । छानबिन समिति बनाउने र त्यसपछि संसद्का अरु कार्यसूचीमा प्रवेश गर्ने भन्ने छलफल भएको छ’, लेखकले भन्नुभयो, ‘गृहमन्त्रीले बोल्नका लागि समय माग्नुभएको छ। त्यसमा हामी अवरोध गर्दैनौँ। हामी उहाँलाई सुन्न तयार छौँ तर सरकारी विजनेसमा प्रवेश गर्नुभन्दा अघि छानबिन समिति बनाउने र उक्त समितिको कार्यादेश टुङ्ग्याइसक्नुपर्ने हुन्छ।’

छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच अहिले पनि छलफल चलिरहेको लेखकले बताउनुभयो। कार्यादेश टुङ्गो लागेर छानबिन समिति बनेपछि संसद्का गतिविधि सहजरुपमा अघि बढ्ने उहाँको भनाइ छ।

शनिबार राति बसेको बैठकमा सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी संस्थाको सम्पत्ति हिनामिना भएका विषयमा संसदीय छानबिन समिति गठन गर्ने सहमत भएका थिए।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ। त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुहुनेछ। 

राष्ट्रपति पौडेलले जेठ १ गते दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि सभामुखले धन्यवाद प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची पनि आज राखिएको छ। त्यसैगरी प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ५३ बमोजिम ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०’ पेस गर्ने कार्यसूची छ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नुहुने कार्यसूची निर्धारण गरिएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई फिर्ता लिने प्रस्ताव पनि पेस गर्नुहुनेछ।