अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक

प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक


काठमाडौँ-काठमाडौँको तारकेश्वर-९ स्थित मनमैजुमा मृत फेला परेका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको मृत्यु प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गरी आरोपितहरू सार्वजनिक गरेको हो।

उनीहरूलाई काठमाडौँ महानगरपालिका-१६ स्थित अष्टनारायण हलपछाडि र बाइसधाराको जंगलबाट भाग्न लागेको अवस्थामा हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका ७ जनामध्ये एक जना १३ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिनुभयो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण-१ घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीय अञ्जली श्रेष्ठ, स्याङ्जा आँधीखोला गाउँपालिका-३ की २१ वर्षीया विपना/वसन्ती भनिने वसुन्धारा कार्की, स्याङ्जा आँधीखोला गाउँपालिका-३ कै ५६ वर्षीय नुनमाया कार्की, नुवाकोट तादी गाउँपालिका, ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ का ३० वर्षीय अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय बालकलाई पक्राउ गरिएको हो। 

बालकको पहिचान भने प्रहरीले गोप्य राखेको छ। 

गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरेको शव गत शुक्रबार मनमैजुमा भेटिएको थियो। शुक्रबार अपराह्न स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ घर भएका घिमिरे सामाखुसीमा डेरामा बस्थे।