अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय महिला भेलाले महिलाका चुनौती सामना गर्ने योजना बनाउँछ: रचना खड्का

राष्ट्रिय महिला भेलाले महिलाका चुनौती सामना गर्ने योजना बनाउँछ: रचना खड्का


काठमाडौं-नेकपा एमाले केन्द्रीय सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका सहसंयोजक रचना खड्काले संयन्त्रले आयोजना गर्न लागेको महिलाको राष्ट्रिय भेलाले महिलाको चुनौती सामना गर्ने योजना बनाउने बताउनुभएको छ।

संयन्त्रको आयोजनामा जेठ १६ र १७ गते हुन लागेको राष्ट्रिय महिला भेलाबाट नेपालका महिलाको अवस्था कहाँ छ र अब कसरी अघि बढ्ने भन्ने निचोड निस्कने उहाँको अपेक्षा छ।

‘अहिलेसम्मका हाम्रा उपलब्धि के हुन् ? हाम्रा चुनौती के छन् र हाम्रा अबका कार्यभार के हुन् भन्ने कुरा तय गर्न हामीले यो भेला आयोजना गरेको हो’, उहाँले भन्नुभयो।

महिलाको अधिकारका लागि कसले के गर्नुपर्छ र स्वयम् व्यक्ति कसरी बदलिएर अघि बढ्नु पर्छ भन्ने तहसम्म पुगेर भेलामा छलफल हुने उहाँले बताउनुभयो। ‘अझै पनि हामीले गर्न नसकेका काम के हुन् ? हाम्रा अपेक्षा के हुन् र त्यसलाई पुरा गर्न कसले के गर्नुपर्छ भनेर निष्कर्ष निकालेर हामी कार्यान्वयनमा लैजान्छौँ, आएका निष्कर्षलाई कार्यान्वयनमा लैजाने परिस्थिति निर्माण गर्ने गरी हामीले कार्यक्रम आयोजना गरेका हौँ, यो जम्मा हौँ, कुरा गरौँ भन्नका लागि मात्र आयोजना गर्न लागेको होइन’, उहाँले भन्नुभयो।

भेलामा अहिलेसम्मका महिला आन्दोलनका उपलब्धिको विषयमा व्यापक छलफल हुने उहाँले जनाकारी दिनुभयो। जमिनका कुरा आउन् भनेर भेला आयोजना गरिएको खड्काले स्पष्ट पार्नुभयो। महिलाको राजनीतिक प्रतिनिधित्वको कुरा गर्दा आर्थिक, सामाजिक अधिकारका कुरा ओझेलमा परेका उहाँले बताउनुभयो।

व्यवस्थाले अवस्था परिवर्तन गर्छ भन्ने कुरा स्थापित गर्न पनि भेला आयोजना गरिएको उहाँले बताउनुभयो। व्यवस्था परिवर्तनसँगै महिलाको अवस्थामा हिजो भन्दा धेरै परिवर्तन भएको कुरा समाजमा लैजाने कुरामा भेला कामयाबी हुने खड्काले बताउनुभयो।
ती सबै एजेण्डा माथि छलफल गरी कार्यान्वयनको लागि कुन कुन निकायमा लैजाने भन्ने निष्कर्ष निकाल्न भेला आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो। यसकै लागि संयन्त्रले नै कार्यक्रम आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो।

राष्ट्रिय भेलाको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने र प्रमुख वक्ताको रूपमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रहनुहुने उहाँले बताउनुभयो।

२०६३ साल जेठ १६ गते नेकपा एमालेका तत्कालीन उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं अखिल नेपाल महिला संघकी तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को संकल्प प्रस्तावको रूपमा पास गरेको स्मरणमामा भेला आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो।

‘संसद्को यही संकल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमा उल्लेख गर्ने आधार प्रदान गर्‍यो, सोही स्मृतिमा नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आएको छ, सोही अवसर पारेर हामीले महिला भेला गर्दै छौँ’, उहाँले भन्नुभयो।

राज्यको तहबाट अहिले कानुनी रूपमा महिलाले धेरै अधिकार प्राप्त गरेका भए पनि व्यवहारिक रूपमा कार्यान्वयनको पाटोमा धेरै काम बाँकी रहेको खड्काले बताउनुभयो। अहिले राज्यले गर्ने विभेद त्यहाँबाट तल झरेर व्यक्तिमा आएको उहाँको भनाइ छ। राज्यले कानुन निर्माण गर्ने मात्र होइन त्यसको स्प्रिड बोक्ने गरी काम गर्न आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो। राजनीतिक रूपान्तरणको काम भए पनि अझै आर्थिक सामाजिक रूपान्तरणको काम गर्नको लागि भेलाले मार्गप्रसस्त गर्ने खड्काले बताउनुभयो।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, एमाले आबद्ध २३ वटै जनसंगठनका केन्द्रीय महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, भेलामा सबै क्षेत्रका महिलाका अवस्था, समस्या र समाधानको विषयमा छलफल हुने खड्काले जानकारी दिनुभयो।

भेलामा १२ वटा समूहमा विभिन्न विषयमा छलफल हुने र त्यसले महत्पूर्ण निष्कर्ष निकाल्ने उहाँको अपेक्षा छ। भेलाले निकालेको निष्कर्ष कार्यान्वयनको लागि सरोकारवालालाई दबाब सिर्जना गर्ने पनि खड्काले बताउनुभयो।