अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ बजेट: बढेन कर्मचारीको तलब

नयाँ बजेट: बढेन कर्मचारीको तलब


काठमाडौँ-सरकारले कर्मचारीको तलब सुविधा नबढाउने भएको छ। मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१/८२को बजेट वक्तव्यमा वर्षमान पुनले कर्मचारीको तलबमान वृद्धिको घोषणा गरेनन् ।

पछिल्लो पटक सरकारले १ साउन २०७९ देखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम गरेको थियो। त्यतिबेला निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्य सेवा, संसद सेवा, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान कायम गरिएको थियो।

अहिले सरकारी कर्मचारीको तलब न्युनतम् २६ हजार ३४८ र अधिकतम् ८२ हजार ३५९ रुपैयाँसम्म छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले सबै सरकारी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको थियो। आगामी वर्षको बजेटले तलब सुविधा वृद्धिबारे कुनै घोषणा नगरेपछि सोही तलब कायम हुने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले सरुवालाई अनुमानयोग्य बनाउने घोषणा गर्नुभएको छ । सार्वजनिक सेवालाई मुहमाररहित र कागजरहित बनाउने घोषणा पनि भएको छ। सेवाग्राहीको गुनासो सुन्ने र समबोधन गर्ने व्यवस्थाका लागि ‘सेवाग्राहीसँग शुक्रबार कार्यक्रम’ सञ्चालनको घोषणा पनि बजेटले गरेको छ।