झापा-झापा बिर्तामोड-४ की वृद्धा विष्णुमाया विष्टको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य अभियुक्त गंगाप्रसाद राजवंशी रहेको जनाएको छ।
चोरी गर्ने उद्देश्यले राजवंशीको समूहले ६८ वर्षीया विष्टको हत्या गरेको खुलेको झापाका प्रहरी प्रमुख मिलन केसीले बताउनुभयो। बिर्तामोड–४ का २२ वर्षीय राजवंशीले सोही स्थानका २३ वर्षीय महेश राजवंशीको सहयोगमा हत्या गरेको केसीले बताउनु भयो। प्रहरीले चोरीको सामान लुकाउन भूमिका खेलेको अभियोगमा गंगाप्रसादकी श्रीमती वर्षा राजवंशी, चोरीको सामान बेच्न सघाउने सोही ठाउँमा ‘ज्याक’ भनिने भगीरथ माझी र चोरीको सामान खरिद गर्ने अर्जुनधारा-६ का हनुमान सुनचाँदी पसल सञ्चालक धनबहादुर कामीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार गंगाप्रसाद र महेश राजवंशी मिलेर चोरी गर्ने योजना अनुसार वैशाख २६ गते विष्टको घरमा गएका थिए । घरमा एक्लै रहेको समयमा चोर आएको जस्तो लाग्यो भनेर उहाँले काठमाडौंमा रहेका छोरालाई फोनमा जानकारी गराउनु भएको थियो। त्यसपछि उहाँका छोराले छिमेकीलाई घरमा जान भन्नुभयो। छिमेकी आएर होहल्ला गरेपछि राजवंशीद्धय भागेका थिए ।
छिमेकीहरु आ–आफ्नो घर फर्किएपछि फेरि राजवंशीले त्यो घरमा चोरी गर्ने योजना बनाए। नजिकै लुकेर बसेका उनीहरु घरको पर्खाल नाघेर भित्र पसे । चोरी गर्नेक्रममा विष्टले होहल्ला गर्न थालेपछि ताला फुटाउन ल्याएको रडले हिर्काएर हत्या गरेको खुलेको छ। वृद्धाको टाउकोमा गंगाप्रसादले तीन पटक रडले प्रहार गरेको स्वीकार गरेका छन् ।
प्रहरीले वृद्धाको हत्या घटनालाई ‘अपरेसन ब्ल्याक ब्याग’ नाम दिएर अनुसन्धान सुरु गरेको थियो । प्रारम्भमा कुकुर ल्याएर अनुसन्धान गरेको भए पनि त्यो प्रभावकारी हुन सकेको थिएन। घटनाका अभियुक्तकोे खोजीका लागि प्रहरीका चार वटा टोली लगातार खटिएका थिए । सीआइबी, प्रदेश, जिल्ला र इलाकाप्रहरी कार्यालय बिर्तामोडको टोलीले संयुक्त अनुसन्धान गरेका थिए।
प्रहरीले घटनास्थलबाट ताला फुटाउन प्रयोग भएका फलामका उपकरण, सुनको औंठी, सुनको बाला, सुनको सिक्री, सुनको टप, सुनको जन्तर र चाँदीको कलश बरामद गरेको जनाएको छ।






प्रतिक्रिया