मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रदेशसभामा आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले उहाँले विगतका वर्षको बजेटलाई समीक्षा गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम पूरा गर्न सरकारलाई जहिले पनि दबाव रहने कुरामा जोड दिनुभयो । उहाँले प्रदेशसभाको पहिलो कार्यकाल समाप्त भएपछि दोस्रो कार्यकालको यो दोस्रो बजेट हो भन्दै सरकारले विगतका बजेट र नीति तथा कार्यक्रमलाई पूर्णरुपमा समीक्षा गरेर ल्याएकाले यसलाई कार्यान्वयन गर्न समस्या नहुने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारको आम्दानीको स्रोत बढ्नु र स्थानीय तथा प्रदेश सरकारको आम्दानीको स्रोत घट्नु खोजीको विषय हो भन्दै प्रदेश सरकारसँग उलब्ध सीमित साधन र स्रोतको बाबजुद पनि प्रदेशमा धेरै काम भएको जानकारी दिनुभयो । सरकारले घोषित नीति कार्यक्रमलाई पूरा गर्न धेरै कानुनको आवश्यकता पर्ने र यसका लागि प्रदेश सरकार दत्तचित भएर लाग्ने भन्दै उहाँले भन्नुभयो, “प्रदेशको बजेट विगतकोभन्दा कम भए पनि जनताको आवश्यकता र चाहना पूरा गर्न विनियोजित हुने बजेटले धेरै ठूलो मद्दत गर्नेछ ।”
“प्रदेशको स्वच्छ, सुखी र समुन्नतभन्दा बाहिरको कुरा सोच्न पनि सक्दैनौँ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो, “सङ्घीयता आएको झण्डै दुई दशक भयो तर जनताले यस किसिमको अनुभूति गर्न सकेको छैन, यसका लागि सङ्घीय सरकार, स्थानीय तह र प्रदेश सरकार दत्तचित भएर लाग्नुपर्छ ।”
–––







प्रतिक्रिया