अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बसाइँसराइले रित्तिँदै मौलाछ गाउँ

बसाइँसराइले रित्तिँदै मौलाछ गाउँ


बागलुङ- ‘गाउँमा हुर्के बढेका नानीबाबुहरु देशविदेश गए, यहीँ स्कुल पढेका केही डाक्टर पनि भए। अहिले न त विद्यालयमा विद्यार्थी छन् न त गाउँमा मानिस नै, गाउँ बूढाबूढीले भरिएको छ’, जैमिनी नगरपालिका–४ सर्कुवाकाका सुशीलाकुमारी शर्माले दुखेसो पोख्नुभयो।

उहाँका अनुसार जैमिनीको केन्द्र कुश्मिसेरा नजिकैको मौलाछ गाउँ बसाइँसराइका कारण रित्तिदै गएको बताउनुभयो। सिङ्गो गाउँका केही घरमा मात्रै युवा भेटिन्छन्। बालबालिका त छैनन भन्दा पनि हुने अवस्था छ। बसाइँसराइ बढ्दै जाँदा पुराना घर  खण्डहर बन्दै छन् भने खेती हुने जमिन बाँझिने क्रम बढेको छ। 

जैमिनी नगरपालिका-४ सकुर्वा मौलाछ गाउँमा ८८ घरमध्ये अधिकांश खाली रहेको उहाँको भनाइ छ। 'मौलाछमा अहिले बुढापाका मात्रै छन्, ८८ घरमा जम्मा ३३ घरमा मात्रै मानिस बस्छन् भने अन्य घर खाली छन्', शर्माले भन्नुभयो, 'यहाँका मानिसहरु चितवन, पोखरा, काठमाडौँ र बुटवलमा बसाइँ सर्ने गरेका छन्।' बसाइँसराइ बढ्दै जाँदा गाउँमा भएको एक मात्र प्राथमिक विद्यालय विद्यार्थीबिहीनको अवस्थामा पुगेको छ।

स्थानीय हीरा पौडेलले भन्नुभयो, “बस्ने स्थान अभावमा गुन्द्री लगेर पढ्ने घरैमाथिको सर्वोदय प्राथमिक विद्यालयमा अहिले विद्यार्थी छैनन्, सबै पढ्न र जागिरको खोजीमा गाउँ टाढेपछि अहिले सुनसान भएको छ ।” उहाँका अनुसार गाउँमा मर्दापर्दा पनि मानिस पाउन गाह्रो हुने अवस्था आइसकेको छ।

बसाइँसराइ रोक्न जैमिनी नगरपालिकाले विद्यालयसँग अभिभावकलाई जोडेर पढ्दै कमाउँदै कार्यक्रम ल्याएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माको भनाइ छ। 

मौलाछमा पहिलेदेखि नै बसाइँसराइ हुँदै आएको हो। अहिले अन्यत्रका गाउँमा बसाइँसराइ बढेपछि नगरपालिकाले एकीकृत कृषि र बाँझो जग्गा सदुपयोगका लागि ओखर र कागतीखेती कार्यक्रम सुरु गरेको उहाँको भनाइ छ। 

'बसाइँसराइ र बाँदरको समस्या हाम्रो पालिकामा मात्रै हैन तर जैमिनीको समस्या  हो, बसाइँसराइ रोक्नका लागि प्रयास गरिरहेका छौँ', शर्माले भन्नुभयो। गाउँमा विद्यार्थीको घट्दो अवस्था हेरेर लिड विद्यालय र पढ्दै कमाउँदैको अवधारणा ल्याएको छ। नगरपालिकाले जैमिनीको सर्वोदयजनक माध्यमिक विद्यालयमा लागू गरिएको पढ्दै कमाउँदै कार्यक्रममा अभिभावकलाई पनि सहभागी गराउन थालिएको छ।