अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

११ देशका राजदुत खाली : दौडमा को को ?

११ देशका राजदुत खाली : दौडमा को को ?


काठमाडौं – सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै नयाँ राजदुतमा नियुक्त हुन दौडधुप सुरु भएको छ ।
हिजोको मन्त्रिपरिषदले अघिल्लो सरकारले नियुक्त गरेको काँग्रेसमा आवद्ध राजदुतलाई हिजो मात्र फिर्ता बोलाए पनि तयारी केही केही महिना अघि देखि नै भएकोले राजदुत नियुक्त हुन लविङ गर्नेहरुको घुइंचो बढेको छ । राजदुतका लागि पूर्व मूख्यसचिव लोकदर्शन रेग्मी देखि पूर्वमन्त्री युवराज कार्कीसम्म लविङ गरिरहेको चर्चा छ । एमाले कोटाबाट रेग्मी केही समय बेलायतको राजदुत हुनु भएको थियो भने कार्कीलाई २०७३ सालमा केपी शर्मा ओलीको सरकारले सिफारिस गरे पनि सरकार ढलेका कारण प्रक्रिया अघि बढेको थिएन । त्यसको क्षतिपूर्ती स्वरुप अहिले आफूले राजदुत पाउनुपर्ने कार्कीको दाबी छ । अघिल्लो पटक सिफारिसमा परेका मध्ये सुमित्रा भण्डारी मधेस प्रदेश प्रमुख नियुक्त हुनु भएकोले सो कोटामा झापा कै कोही महिलाले मौका पाउने चर्चा छ । भारत र अमेरिकामा पार्टीकै उच्च तहको कोही नेतालाई पठाउने अध्यक्ष ओली समक्ष केही पदाधिकारीहरुले सुझाएका छन् । महासचिवको कार्यकाल बाँकी छँदै पद्म प्रसाद पाण्डेलाई ठाउँ खालि गर्नुभएका संसदका पूर्व महासचिव भरत गौतमलाई सत्ता भारत र अमेरिका बाहेक रोजेको देश पठाउने तयारी छ । अघिल्लो पटक सिफारिस भएर नियुक्त हुन नसकेका डा.नारायण संग्रौला लगायत पनि दौडमा छन् ।
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एसमा पनि राजदुतको लविङ चलिरहेको छ । रास्वपाले पूर्व सचिवहरु मध्येबाट आफ्नो कोटामा परेको देशमा राजदुत पठाउने तयारी गरेको बुझिएको छ भने माधव नेपालले कोटामा अघिल्लै सरकारका पालामा राजदुत नियुक्त भएका छन् ।
एमालेले तीन वटा विधिमा टेकेर राजदुत सिफारिस गर्न लागेको चर्चा छ । पहिलो अघिल्लो सरकारका सिफारिस भएका तर नियुक्त हुन नसकेका,दोस्रो,नियुक्त भएका तर छोटो अवधीमै फिर्ता बोलाइएका र तेस्रो पार्टीका उच्च तहका नेता वा विषय विज्ञहरु मध्येबाट राजदुत छनौट गर्ने तयारी रहेको एमाले एक पदाधिकारी बताउछन् ।

हिजोको मन्त्रिपरिषद्को बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।