अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लिम्चुङबुङ गाउँ कमिटीको अध्यक्षमा ज्ञान बहादुर राई निर्विरोध निर्वाचित

एमाले लिम्चुङबुङ गाउँ कमिटीको अध्यक्षमा ज्ञान बहादुर राई निर्विरोध निर्वाचित


उदयपुर-नेकपा एमाले लिम्चुङबुङ गाउँपालिका कमिटीको अध्यक्षमा ज्ञान बहादुर राई निर्विरोध निर्वाचित हुनुभएको छ। शुक्रबार सम्पन्न नेकपा एमाले, लिम्चुङबुङ गाउँपालिका कमिटीको दोस्रो गाउँपालिका अधिवेशनले ज्ञान बहादुर राईलाई निर्विरोध निर्वाचित गरेको हो।

राईको अध्यक्षतामा ३५ सदस्यीय लिम्चुङबुङ गाउँपालिका कमिटी गठन गरिएको नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य देवराज राईले जानकारी दिनुभयो।

यस्तै उपाध्यक्षमा केशरमणि राई, सचिवमा चित्र कुमार राई, उपसचिवमा भविन्द्र कुमार राई र बिन्दा कार्की राउत निर्विरोध निर्वाचित भएको कोशी प्रदेश कमिटीका सदस्य राईले जानकारी दिनुभयो।

गाउँपालिका कमिटीको दोस्रो अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य देवराज राई हुनुहुन्थ्याे।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपपाबाट १३ जना नेकपा एमालेमा प्रवेश गरेको अधिवेशनका प्रमुख अतिथि एवं एमाले कोशी प्रदेश कमिटीका सदस्य देवराज राईले बताउनुभयो।

यस अघि पनि २०८१ वैशाख ३० गते लिम्चुङबुङ गाउँपालिका वडा-३, नागी बाराहास्थित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका राष्ट्रिय शेर्पा मुक्ति मोर्चाको केन्द्रीय सदस्य गन्जु शेर्पासहित २७ र नेपाली कांग्रेसका १४ गरी ४१ जना नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको थियो। नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेसँगै लिम्चुङबुङ गाउँपालिकामा माओवादी रित्तिएको एक स्थानीय नेताले बताउनु भएको थियो। नेताका अनुसार लिम्चुङबुङ गाउँपालिकामा माओवादीको निकै चुरीफुरी थियो अब टर्च बालेर खोज्नु पर्ने अवस्था नआउला भन्न सकिंदैन।

लिम्चुङबुङ गाउँपालिका उदयपुर क्षेत्र–२ को प्रदेश सभा (क) अन्तर्गत पर्दछ। यो गाउँपालिकामा पाँच वटा वडा रहेकाे छ।

उता रौतामाई र उदयपुरगढी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न गरेको छ। रौतामाईमा ललित मगरको अध्यक्षतामा तेजबहादुर थापा सचिव रहेको ७५ सदस्यीय कमिटी गठन भएको छ। त्यस्तै उदयपुरगढीमा यम्बरबहादुर खत्री अध्यक्ष र खेमबहादुर पाचेमगर सचिव रहेको ७५ सदस्यीय कमिटी सर्वसम्मत गठन गरिएको छ।

जिल्लाका ४ नगर र १ गाउँपालिकास्तरीय अधिवेशन भने जारी छ। सदरमुकाम गाईघाट त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगर तथा ताप्ली गाउँपालिकाको अधिवेशन  नेतृत्व चयन हुन नसकेका कारण टुंगिन बाँकी रहेको पार्टीले जनाएको छ। ती स्थानीयतहमा अध्यक्षलगायत पदाधिकारीका आकांक्षी धेरै देखिएकाले सर्वसम्मत नेतृत्व चयन हुन नसकेर ढिला भएको हो। 
अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको जनाएको छ । यदि त्यस्तो हुन नसके लोकतान्त्रिक पद्धति अनुसार उदार र स्वस्थ्य प्रतिस्पर्धा गर्दै कमिटी चयन गर्ने विकल्प खुल्ला राखिएको छ।