अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कान खोलेर सुने हुन्छ, आगामी चुनावमा काठमाडौं जिल्ला एमालेको किल्ला हो: अध्यक्ष ओली

कान खोलेर सुने हुन्छ, आगामी चुनावमा काठमाडौं जिल्ला एमालेको किल्ला हो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा काठमाडौँमा आफ्नो पार्टीलाई कसैले हराउन नसक्ने दाबी गर्नुभएको छ।

शनिबार काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले अघिल्लो निर्वाचनमा स्थानीय तहसहित संसदीय निर्वाचनमा पनि एमालेले हार व्यहोरेको भन्दै आगामी निर्वाचनमा त्यस्तो नहुने ठोकुवा गर्नुभयो।

‘हामीले एउटा मोर्चामा एक अवधि हारेका हौँ, हामीले एउटा निर्वाचन हारेका हौँ। सबैले टेबल राखेर आफ्नो उचाइ देखाएका हुन् हामी आफ्नो उचाइ राखेर यहाँ आएका हौँ,’ अध्यक्ष ओली भन्नुभयो, ‘कुन चाहीँ पार्टी हाम्रोजस्तो एक्लै आफ्नै उचाइमा नापिएको छ? कांग्रेस माओवादीका काँधमा टेकेर, अर्को एसको, उसको काँधमा टेकेर यति अग्लो भएको होइन? नेकपा एमाले कसैको काँधमा होइन, आफ्नै खुट्टामा टेकेर यति अग्लो भएको हो।’

उहाँले विरोधीलाई कान खोलेरै सुन्न आग्रह गर्दै आगामी निर्वाचनमा एमालेले सबै शक्तिहरूलाई काठमाडौँमा पछारेरै छाड्ने दाबी समेत गर्नुभयो ।

‘हामी आगामी निर्वाचनमा विरोधीलाई पनि भन्न चाहन्छु, कान खोलेर सुने हुन्छ, आगामी निर्वाचनमा काठमाडौँ जिल्ला एमालेको किल्ला। आफ्नो आफ्नो तयारी गरे हुन्छ, मोर्चा कसे हुन्छ, कम्मर कसे हुन्छ नेकपा एमालेले पराजित गर्छ, पछार्छ पछार्छ। यो कुरा खुला छ। किनभने यो जरुरी छ, देश, विकास, सभ्यता र संस्कृतिका लागि यो जरुरी छ,’ ओलीले भन्नुभयो।

उहाँले अधिवेशनबाट नेतृत्व चयनमा सहमति गर्न निर्देशन दिनुभयो । सहमति नभए पनि व्यक्तिगत प्रतिस्पर्धा भए पनि संगठन बिगारे राम्रो नहुने उनले चेतावनीसमेत दिनुभयो।