अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ: डा.स्वर्णिम वाग्ले

नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ: डा.स्वर्णिम वाग्ले


काठमाडौँ-प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाउन सुझाव दिनुभएको छ।

विनियोजन विधेयक, २०८१ सम्बन्धी प्रतिनिधिसभाको आजको बैठकमा भएको छलफलमा उहाँले विश्वसनीयता र क्षमताको सुधार, चालु खर्चलाई नियमन साथै अर्थतन्त्रको आकार बढाउने विषयमा ध्यान दिन सुझाव दिनुभयो।

सांसद वाग्लेले लामो समयपछि अर्थतन्त्रको आकार प्रक्षेपित ३० प्रतिशतभन्दा कममा आएकाले यसलाई सुरक्षित अवतरणको चरणका रुपमा रहेको टिप्पणी गर्नुभयो। उहाँले सिङ्गो सदन ‘न्युनमोरेटर’मा फोकस गरिरहेकाले ‘डिमोरेटर’मा ध्यानदिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “१७र१८ खर्बको बजेट हैन कि ५७र६०  खर्बको  अर्थतन्त्रको आकार बढाउनेमा गयौँ भने यो बजेट विनियोजन विधयेकमा गइरहेको अधिक ध्यान गौण हुने मेरो बुझाइ छ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफलमा सांसद वाग्लेले परम्परागत ऊर्जाको स्रोतबाट आधुनिक ऊर्जाको स्रोततर्फ जानुपर्ने बताउनुभयो। त्यसका लागि विद्युत् उत्पादन, प्रसारण र खपततर्फ बजेट विनियोजनले महत्व दिनुपर्नेमा उहाँको जोड थियो।     

उहाँले मनसुन र अन्य समयमा ऊर्जा उत्पादनबीच सन्तुलन नहुँदा ऊर्जा असुरक्षा बढेकोतर्फ ध्यानाकर्षण गराउनुभयो। सांसद वाग्लले बजेटको लक्ष्य र जानुपर्ने दिशा ठीक भएको बताउनुभयो। यसको कार्यान्वयका लागि पूँजीको खाडल पूर्तिलाई सहजीकरण आवश्यक भएकाले निजी क्षेत्रको सहभागितामा उहाँले जोड दिनुभयो।