काठमाडौँ-आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता दावी गर्ने चार जनालाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानुनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर विभिन्न वडाहरूमा त्यसका शाखाहरू समेत विस्तार गरेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समितिमा भ्रष्टाचारविरोधी अभियन्ता भन्दै जाने र असम्बन्धित सूचना माग्ने तथा धम्क्याउने गरेको पाइएको प्रहरीको भनाइ छ। प्रहरी वृत्त, बौद्धमा जाहेरी परेपछि असार ३ गते चार जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षका राजु सुनार, ८ का २६ वर्षीय आदर्श क्षेत्री, १ का २० वर्षीया अस्मिता खत्री र २ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन्। उनीहरूले आफूहरू ‘भ्रष्टाचारविरोधी अभियन्ता भएको बताउँदै विभिन्न निकायमा ‘रेड’ हान्न पुग्थे ।
त्यसरी खिचिएका सामग्री उनीहरूले युट्युवलगायत सामाजिक सञ्जालमा राखी चरित्र हत्या गरेको भन्दै प्रहरी वृत्त बौद्दमा जाहेरीसमेत परेको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै भ्यूज बढाउने नाममा युट्युवमा विभिन्न भिडिओ बनाएर ‘न्यायाधीश’ बन्ने हरूमाथि निगरानी बढाइएको छ ।
प्रतिक्रिया