अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङ पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न योगेश भट्टराईको माग

ताप्लेजुङ पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न योगेश भट्टराईको माग


काठमाडौं-प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टाराईले २०८१ जेठ ३० गते यतादेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङको विभिन्न ठाउँमा ठूलो जनधनको क्षतिबाट विस्थापित भएका परिवारहरुलाई तत्काल राहत दिन र घाइतेहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।

केही दिन यताको अविरल वर्षाबाट ताप्लेजुङ जिल्लामा ठूलो मानवीय क्षति भएको भन्दै सचिव भट्टाराईले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष आपतकालीन राहत र स्वास्थ्य उपचारको माग गर्नुभएको हो। उहाँले वर्षाकै कारण अवरुद्ध भएका सडकहरु सुचारु गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

बाढीपहिरोमा परी हालसम्म पाँच जनाको मृत्यु तथा ठूलो भौतिक क्षति भइसकेको छ।

प्रतिनिधिसभाका सदस्यहरु योगेश भट्टराई, उर्मिला थेबे, लीलादेवी बोखिम (लिम्बू_ले आज उपप्रधानमन्त्रीसमक्ष भेट गरी जिल्लाका दर्जनौँ घरमा भएको क्षतिले सयौँको सङ्ख्यामा मानिस विस्थापित भएको तथा पक्की, झोलुङ्गे र काठे पुल तथा सडकमा भएको क्षतिले यातायातका साधन सञ्चालन हुन नसक्ने गरी विभिन्न स्थानमा आवतजावत तथा यातायातसमेत अवरुद्ध भएको अवगत गराउनुभएको हो ।

प्रतिनिधिसभा सदस्य भट्टाराईले सार्वजनिक अपिल जारी गर्दै भन्नुभएको छ, ‘२०८१ जेठ ३० गते यतादेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा आएको बाढी र पहिरोले हालसम्म पाँच जनाको मृत्यु भएको छ भने ठूलो मात्रामा भौतिक क्षति भएको छ। दर्जनौं घरमा भएको क्षतिले सयौको संख्यामा मानिसहरु विस्थापित भएका छन्। पक्की, झोलुङ्गे र काठे पुल तथा सडकहरुमा भएको क्षतिले यातायातका साधनहरु सन्चालन हुन नसक्ने गरी विभिन्न स्थानमा आवतजावत तथा यातायात समेत अबरुद्ध भएको छ। ठूलो मात्रामा पशु/चौपाया तथा बाली नाली नोक्सान भएको छ।’

उहाँले भन्नुभयो, ‘जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि, स्थानीय सञ्चारकर्मी लगायत विभिन्न माध्यमबाट प्राप्त क्षतिको विवरण सहित हामी ताप्लेजुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्यहरु निम्न माग सहित तत्काल गर्नुपर्ने कामका लागि सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं।’

गृहमन्त्री लामिछानेले ताप्लेजुङमा परेको विपत्तिबारेमा आफू जानकार रहेको र राहत, उद्धार र पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखी स्थानीय तह, प्रदेश सरकार, सङ्घका सरकारी कार्यालयसँगको समन्वय र  सहकार्यमा सबै कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।