काठमाडौँ-प्रतिनिधिसभाको बैठकमा नेकपा ९एमाले० का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दूधको भुक्तानी तत्काल दिन माग गर्नुभएको छ। किसानका समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले किसानले दूधको भुक्तानीको माग गर्दै आन्दोलन गरेको लामो समय भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो। धर्नामा बसेका ४५ किसानलाई पक्राउ गर्नु दुःखद भएको उहाँको भनाइ थियो।
“किसानको माग न्यायोचित छ, ६ लाख किसानले करिब रु ६ अर्ब भुक्तानी पाउन बाँकी छ”, प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, 'किसानले बैँकबाट ऋण लिएका छन्, तिर्ने अवस्था छैन।' उहाँले किसानको समस्याको विषयमा कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै दूधको भुक्तानीको बक्यौता अविलम्ब उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।
नेपाली कांग्र्रेसकी सांसद नागिना यादवले किसानको जीविकोपार्जनको मुख्य आधार कृषि भएकाले किसानको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। 'आन्दोलनरत किसानको माग तत्काल सम्बोधन गर्नुपर्छ', उहाँले भन्नुभयो।
नेकपा ९एकीकृत समाजवादी० का सांसद मेटमणी चौधरीले कानुनसम्मत् दर्ता भएका क्रसर र खानी उद्योगको नवीकरण गर्नुपर्ने बताउनुभयो। क्रसर व्यवसायीबाट रु.६ अर्ब राजस्व प्राप्त भइरहेको उहाँको भनाइ थियो।
स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आन्दोलनरत कवाडी व्यवसायीमाथि लाठीचार्ज हुनु दुःखद भएको बताउनुभयो। आन्दोलनका क्रममा घाइते भएकाको उपचार निःशुल्क गर्न उहाँले माग गर्नुभयो।
नेकपा एमालेका सांसद एकनाथ ढकालले गोरखाको भिमसेन थापा गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी जोड्ने झोलुङ्गे पुल हालसम्म मर्मत हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले शान्तिपूर्ण आन्दोलनमा रहेका कवाडी व्यवसायीमाथि लाठीप्रहारको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा ९एमाले० का सांसद मानवीर राईले लामो समयदेखि लुक्लास्थित तेन्जीङ हिलारी विमानस्थल अवरुद्ध हुँदा पर्यटकले सास्ती खेप्नुपरेको उल्लेख गर्नुभयो । उक्त विमानस्थलसँगै सडकसमेत अवरुद्ध हुँदा बिरामीलाई समस्या भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया