अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाका चार पालिका बाढीको उच्च जोखिममा

झापाका चार पालिका बाढीको उच्च जोखिममा


झापा-झापा जिल्लाका चार पालिकाहरू बाढीको उच्च जोखिममा रहेका छन्। १५ पालिकामध्ये ४ वटा उच्च र थप अन्य चार पालिका आंशिक जोखिममा रहेको जनाएको छ। झापामा दुई हजार तीन सय घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

समिति झापाले तयार पारेको मनुसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ अनुसार झापाका ४ वटा पालिका उच्च र थप ४ पालिका आंशिक जोखिममा रहेका छन्। उच्च र आंशिक जोखिम रहेका पालिकाको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक तयारी गर्दै आएको छ।

झापा गाउँपालिका, कचन कवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र गौरीगञ्ज गाउँपालिका बाढीको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाका सदस्य एवं नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताउनु भयो। मनसुन सुरु भएसँगै यी पालिकामा डुबान सुरु भएको छ।

गौरादह नगरपालिका, कमल गाउँपालिका, कनकाई नगरपालिका र भद्रपुर नगरपालिका आंशिक जोखिममा रहेका छन्। ६ वटा पालिका कम जोखिममा र २ वटा पालिका भने बाढीको जोखिममा छैनन्। बुद्धशान्ति गाउँपालिका र हल्दिबारी गाउँपालिका जोखिमरहित पालिका हुन्।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उच्च जोखिममा रहेका पालिकाको स्थलगत निरीक्षण गरेर सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको छ। पूर्व तयारी अन्तर्गत सबै निकाय र आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ।

तत्काल आवश्यक राहत र सहयोगका लागि कोष रहेको पनि उहाँले जानकारी दिनुभयो। ‘विपद्को पूर्व अनुमान गरिएकाले त्यसै अनुसारको सबै तयारी पुरा गरेका छौ’, बास्तोलाले भन्नुभयो। २ हजार तीनसय घर परिवार जोखिममा रहेको आफूहरूले तयार पारिएको योजनामा उल्लेख रहेको उहाँले उल्लेख गर्नुभयो।