अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मृत्यूको २२ वर्षपछि राजा महेन्द्रका ज्वाँइलाई भ्रष्टाचार मुद्धामा सफाइ

मृत्यूको २२ वर्षपछि राजा महेन्द्रका ज्वाँइलाई भ्रष्टाचार मुद्धामा सफाइ


काठमाडौं- सार्वजनिक जग्गा आफ्ना नाममा दर्ता गराएको मुद्दामा तत्कालीन राजा महेन्द्र शाहका ज्वाइँ कुमार खड्गविक्रम शाहले मृत्युको २२ वर्षपछि सफाइ पाएका छन्।
सो प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कुमार खड्गविक्रमसहित सबैलाई विशेष अदालतले जग्गा सार्वजनिक हुने ठहर गर्दै सफाइ दिएको हो।
अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले तयार पारेको रायमा भनिएको छ, ‘प्रतिवादीहरूको उक्त कार्यमा कुनै बदनियत रहेको नदेखिंदा सबै प्रतिवादीहरूले सफाइ पाउने, उल्लेखित विवादको जग्गा सरकारी सार्वजनिक जग्गा रहेको फिल्डबुक समेतका मिसिल प्रमाणबाट पुष्टि हुन आएकाले जफत भई नेपाल सरकारको नाममा दर्ता कायम हुने ठहर्छ।’
धनुषाको पिडारी चोक र रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ भदौ ९ मा तत्कालीन राजा वीरेन्द्रका भिनाजु शाहसहित गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

राजा महेन्द्रकी छोरी शारदासँग बिहे गरेका कुमार खड्कविक्रम दरबार हत्याकाण्डमा पत्नीसहित मारिएका थिए। तर धनुषाको जग्गा भ्रष्टाचार काण्ड भने दरबार हत्याकाण्ड भन्दा अघिकै हो। जनकपुरस्थित गुठी तहसिल तथा खर्च कार्यालयले उक्त जग्गा गुठीको लगत कायम गरिदिएपछि भ्रष्टाचारको सुरुवात भएको दाबी अख्तियारले गरेको थियो।

गुठी कार्यालयका तत्कालीन प्रमुख मधुप्रसाद बस्ताकोटीले कुनै मेल नखाने गुठीको नाममा लगत कायम गरिदिएपछि कुमार खड्गविक्रम शाहको नाममा उक्त जग्गा दर्ता भएको थियो। यसपछि मालपोत कार्यालय धनुषाले कुमार खड्गविक्रमको नाममा लालपुर्जा बनाइदिएको थियो।

अख्तियारले ६ टुक्रा जग्गा कुमार खड्गविक्रमको नाममा पास भएको आरोप लगाएको थियो। अख्तियारले भ्रष्टाचार भएको दाबी गर्दै २९ करोड ८८ लाख बिगो मागदाबी गरेको थियो।