अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

योगलाई कुनै धर्म र जातमा सीमित गर्न हुँदैन: अध्यक्ष ओली

योगलाई कुनै धर्म र जातमा सीमित गर्न हुँदैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताउनु भएको छ।

शुक्रबार १०औं विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले योग नेपाल भूमिबाट नै शुरु भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘योग कुनै धर्म, जाति, भूगोल र राजनीतिक विचार धारामा सीमित गर्नु हुँदैन।’

उहाँले योगलाई मानव जातिको कल्याणका रुपमा विकास गर्नुपर्ने बताउनु भयो। अध्यक्ष ओलीले योग मानव समाजव्यापी हुन जरुरी रहेको बताउनु भयो।

अध्यक्ष ओली भन्नुभयो, ‘योग यसै भूमिबाट शुरु भएको थियो, हजारौं वर्षअघि। मैले आफ्ना अघिल्ला मन्तव्यमा पनि योगको सुरुवात र विकासको सन्दर्भमा केही आफ्ना विचार राखेको थिएँ। योगी शिवबाट योग शुरु भएको थियो । योग कुनै धर्म विशेषसँग, कुनै जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सीमित छैन। यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको छ। एउटा यस्तो विधा हो, जो अत्यन्त वैज्ञानिक ढंगले शुरु भएको थियो। बीचमा अलि ओझेल पर्दै गयो। अहिले योग भ्रान्तिहरुबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्ण रुपमा समर्पित, व्यापक र विस्तृत हुन जरुरी छ। मानव समाजव्यापी हुन जरुरी छ।’​

अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताउनु भयो। योग भनेको अनुशासित र पवित्र जीवन रहेको उहाँको भनाइ छ।