अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

योग मानवजीवनका लागि अपरिहार्य: अध्यक्ष ओली 

योग मानवजीवनका लागि अपरिहार्य: अध्यक्ष ओली 

तस्वीरमा हेर्नुहोस्


काठमाडौं-१०औं विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेकपा एमालेले योग कार्यक्रमको आयोजना गरेको छ।

शुक्रबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एमालेले भृकुटीमण्डल, काठमाडौँमा योग कार्यक्रम गरेको हो। योग दिवस कार्यक्रमको प्रमुख अतिथि एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो। कार्यक्रममा एमालेका नेता–कार्यकर्ताहरु उपस्थिति रहेको थियो। सो क्रममा अध्यक्ष ओलीले योग गर्नुभएको थियो।

अध्यक्ष ओलीले शरीर र मस्तिष्क स्वास्थ्य रहनु एउटा कुरा र त्यसको सदुपयोग हुनु अर्को कुरा भएको बताउनु भयो। उहाँले आफ्नो परिवार, छिमेकी र सिङ्गो मानव समुदायको लागि मस्तिष्कको सदुपयोग हुनु प्रमुख कुरा भएको बताउनुभयो। 

योगले शारीरिक, मानसिक स्वच्छताको साथै आचरण, व्यवहार र क्रिया–कर्मको समेत स्वच्छता र पवित्रताको मार्गदर्शन गर्ने उहाँको धारणा छ। ‘तसर्थ योग कसैलाई चाहिने, कसैलाई नचाहिने होइन, यो सबै मानव जातिको साझा सम्पत्ति हो’, अध्यक्ष ओलीले भन्नुभयो। 

योगको सार अहिंसा, सत्य धारण र शरीरको नियन्त्रण भएको उहाँले बताउनुभयो। योगले अक्सिजनलाई मस्तिष्कमा पुर्‍याएर मानिसलाई तन्दुरुस्त बनाउने ओलीले प्रष्ट पार्नुभयो। ‘निरोगी समाज निर्माण गर्नु छ भने योग अपरिहार्य छ’, उहाँले भन्नुभयो। 

मानिसलाई स्वास्थ्य जीवन जिउन र असल कर्म गर्न सिकाउने कुरा योग हो भन्ने कुरा बुझ्नु पर्नेमा उहाँले जोड दिनुभयो। योगमा गलत कुरा र स्वार्थ मिसिनु नहुने उहाँले प्रष्ट पार्नुभयो । सङ्कीर्ण र समूहगत स्वार्थ योगमा मिसिनु नहुने उहाँले बताउनुभयो। योगले मानिसलाई कुबाटोबाट सही बाटोमा, गलत विचारबाट सही बिचारमा ल्याउनु पने ओलीले धारणा राख्नु भयो। 

योग सद् विचार र सत्कर्मको संयोग भएको उहाँले बताउनुभयो। योगले समाजका लागि उपयोगी मान्छे बनाउनु पर्ने ओलीको धारणा छ । योग मानव समुदायलाई परलोक भन्दा सुन्दर बनाउने उपाय भएको उहाँले बताउनुभयो। 

उहाँले सजिलोसँग योग सिक्न र नराम्रा काम होइन राम्रा काम गर्नुपर्ने बताउनुभयो । योगले पहिला सूत्र नै अनुशासनमा बस्न भनेको उहाँले स्मरण गराउनुभयो। आफू र विश्व मानव समुदायलाई राम्रो काम र राम्रो विचार योगले मात्र दिने ओलीले स्पष्ट  पार्नुभयो। 

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस नेपालले हरेक वर्ष मनाउँदै आएको छ।