अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनसुन देशैभर फैलियो 

मनसुन देशैभर फैलियो 


काठमाडौं-आज दिउँसोदेखि मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गरी मनसुनी प्रणाली सातै प्रदेशमा विस्तार भएको जानकारी दिएको हो।  

महाशाखाले विशेष बुलेटिनमा जारी गर्दै मनसुन देशभर फैलिएको जनाएको छ।

‘यस वर्षको मनसुन प्रणाली आज मिति २०८१/०३/१० (२४ जुन २०२४) गतेका दिन देशभर फैलिएको छ’, बुलेटिनमा भनिएको छ। 

नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा ३ दिन छिटो जेठ २८ अर्थात् जुन १० का दिन कोसी प्रदेशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो। यसको १० दिनपछि अर्थात् जुन २० तारिख कोसी प्रदेशका सबै क्षेत्रमा, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश स्थानमा र लुम्बिनी प्रदेशका पूर्वी भेगमा मनसुन पुगेको थियो।

यसैबीच हाल (सोमबार साँझ) देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा कतै बाक्लो त कतै पातलो बादल) छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति कोसी, मधेस, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।