अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मार्क्सवाद-लेनिनवादको झण्डालाई माथि उठाउने महान् व्यक्तित्व मदन भण्डारी हुनुहुन्थ्यो: पृथ्वीसुब्बा गुरुङ

मार्क्सवाद-लेनिनवादको झण्डालाई माथि उठाउने महान् व्यक्तित्व मदन भण्डारी हुनुहुन्थ्यो: पृथ्वीसुब्बा गुरुङ


काठमाडौं-नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङले मदन भण्डारीले मार्क्सवादको झण्डालाई नेपालबाट उठाउनु भएको बताउनुभएको छ।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै गुरुङले भण्डारीले कम्युनिष्ट आन्दोलन असफल भयो भनेर भनिएको बेला नेपालबाट आन्दोलनको झण्डा उठाउनुभएको बताउनुभयो। ‘संसारभरिको कम्युनिष्ट आन्दोलनलाई प्रेरणा दिएर मार्क्सवाद–लेनिनवादको झण्डालाई माथि उठाउने महान् व्यक्तित्व मदन भण्डारी हुनुहुन्थ्यो’, उहाँले भन्नुभयो ।

उपमहासचिव गुरुङले मदन भण्डारीले ल्याउनु भएको जनताको बहुदलीय जनवाद जनताको जनवादकै स्वरूप भएको बताउनुभयो। धेरै कम्युनिष्टहरुले जनताको जनवाद एकदलीय हुन्छ भन्ने सिद्धान्त जस्तो मानेर गरेका शासन सञ्चालन असफल भएका उहाँले बताउनुभयो। त्यस्तो बेला जनताको जनवादी व्यवस्था अब बहुदलीय प्रतिस्पर्धामा चल्छ भनेर मार्क्सवाद सिर्जनात्मक प्रयोगका काम नेपालमा मदन भण्डारीले गर्नुभएको उहाँले स्पष्ट पार्नुभयो।

मदन भण्डारीकै कारण नेपालको र विश्वको कम्युनिष्ट आन्दोलन अहिले उचाइमा उठेको उहाँले बताउनुभयो। बहुदलीय प्रतिस्पर्धाबाट पनि कम्युनिष्टहरु सत्तामा पुगेर जनताको सेवा गर्न सक्दछन् भन्ने कुरा जनताको बहुदलीय जनवादले स्थापित गरेको उहाँले प्रष्ट पार्नुभयो।

संसद् र सडकको सङ्घर्ष जोडेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सकिन्छ भनेर मदन भण्डारीले भन्नुभएको कुरा आज पुष्टि भएको उहाँले बताउनुभयो। मार्क्सवादलाई सिर्जनात्मक रूपले प्रयोग गरेर नेपालमा कम्युनिष्ट आन्दोलन स्थापित भएको उहाँले बताउनुभयो। ‘कम्युनिष्ट पार्टीले आफ्नो सामर्थ्य नेपालमा देखाएको छ, आज सबैभन्दा लोकप्रिय आन्दोलन र पार्टी कम्युनिष्ट पार्टी बनेको छ’, उहाँले भन्नुभयो ।

शान्तिपूर्ण आन्दोलनबाट सत्ता परिवर्तन हुँदा पुरानै सेना, प्रहरी, न्यायालय, कर्मचारीको संयन्त्रबाट काम चलाउनु पर्ने भएकोले अन्तर्विरोध हुने कुरा मदन भण्डारीले भन्नुभएको उहाँले बताउनुभयो । अहिलेको नेपालको अन्तर्विरोध त्यही भएको गुरुङले स्पष्ट पार्नुभयो । नेपालका सेना, प्रहरी, न्यायालय र कर्मचारी संयन्त्रमा आमूल परिवर्तन आवश्यकता रहेको उहाँको भनाई छ ।

बहुदल प्राप्त भए पछि नेपाली सेनामा सबैभन्दा बढी राजनीतिकरण भएको गुरुङले बताउनुभयो । अब त्यो राजनीतिकरणबाट, पार्टीकरण र गुटकरण हुँदै व्यक्तीकरणको अवस्थामा आएको भन्दै गुरुङले चिन्ता व्यक्त गर्नुभयो । ‘पुलिसले आफ्नो श्रेष्ठता पुष्टि गर्न सकेको छैन, किन भने त्यसलाई हामीले ध्वस्त बनाएका छौँ’, गुरुङले भन्नुभयो ।

पुलिसले नेता र मन्त्रीलाई सोधेर मात्र मुद्दा लिने र मुद्दा चलाउने गरेको उहाँले बताउनुभयो । यसबाट नेपाल प्रहरीलाई माथि नउठाउने हो भने लोकतन्त्र सफल हुन नसकेको उहाँको धारणा छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अवस्था त्यही रहेको गुरुङले प्रष्ट पार्नुभयो । सरकारका पुराना संयन्त्रलाई संघीय लोकतान्त्रिक प्रणाली अनुकूल बनाउँदा मात्रै संघीय लोकतन्त्र सफल हुने उहाँले प्रष्ट पार्नुभयो ।

देश संघीय लोकतान्त्रिक व्यवस्थामा गए पनि न्यायालय अहिले पनि एकात्मक प्रणालीमा नै रहेको उहाँले बताउनुभयो । ‘यो अहिले पनि एकात्मक छ, संघात्मक होइन, यो अहिले पनि एकात्मक शासन प्रणालीमैत्री छ, संघीय शासन प्रणालीमैत्री होइन, हिजोको जे रवैया थियो, जे चरित्र थियो, आज पनि त्यही छ, यसले हाम्रो शासन प्रणालीमा धेरै सङ्कट पैदा गरेको छ’, गुरुङले भन्नुभयो ।