अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट निर्माण प्रक्रियालाई वैज्ञानिक बनाउन जरूरीः देवेन्द्र दाहाल

बजेट निर्माण प्रक्रियालाई वैज्ञानिक बनाउन जरूरीः देवेन्द्र दाहाल


काठमाडौं-राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बजेट निर्माण प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्नेमा जोड दिनु भएको छ।

सोमबार राष्ट्रिय सभामा मन्त्रालयगत बजेट माथिको छलफलमा भाग लिँदै उहाँले योजना तथा बजेट निर्माण र कार्यान्वयनलाई जनमुखी र समानुपातिक बनाउन वैज्ञानिक विधि अपनाउनु पर्ने बताउनु भएको हो।

बजेट निर्माण प्रक्रियामा सांसदहरूलाई संलग्न गराउने कि नगराउने भन्ने विषय तर्फ छलफल गरिन जरुरी रहेको भन्दै उहाँले बजेटलाई समानुपातिक रूपमा वितरण गर्न योजना तर्जुमा र छलफल प्रक्रियालाई प्रभावकारी बनाउन उहाँले सुझाव समेत दिनुभयो। बजेट तथा योजना तर्जुमा प्रक्रियालाई कार्यसूची अनुसार प्रभावकारी र सहभागितामूलक बनाउनु पर्ने भन्दै मन्त्रीहरूका क्षेत्रमा मात्र योजना र बजेट बढी विनियोजन भयो भन्ने गुनासो अन्त्य गरिनु पर्नेमा उहाँको जोड थियो।

परम्परागत भन्दा बैज्ञानिक विधि अपनाइनु पर्ने भन्दै नेता दाहालले बजेट माथिको छलफललाई अर्थहीन हुनबाट जोगाउनु पर्ने बताउनुभयो। त्यस क्रममा उहाँले बजेट माथिको छलफल मन्त्री र प्रधानमन्त्रीको आलोचना गर्ने समय मात्र जस्तो बनेको टिप्पणी पनि गर्नुभयो । सत्ता पक्षीय संसदीय दलका नेता समेत रहनु भएका नेता दाहालले बजेट पेस भए पछि हुने छलफललाई बजेट माथि सांसदको धारणा, मन्तव्य जे भने पनि आलोचना गर्ने मात्र नभई उपलब्धिमूलक बनाउनु पर्नेमा जोड दिनु भयो । तर सरकारले पनि बजेट माथि सांसदहरूले राखेका धारणालाई गम्भीर रूपमा लिनु पर्ने बताउनुभयो । बजेट माथि सांसदहरूले राखेका धारणा व्यर्थ हुन्छन् भने बरु कानुनै बनाएर सरकारले बजेट बनाउने र अर्थ मन्त्रालयले जारी गर्ने व्यवस्था गरे पनि हुने उहाँको भनाई थियो । बजेट माथिको छलफललाई उपलब्धिमूलक बनाउन र सांसदहरूका सुझाव लिने प्रक्रिया बलियो बनाउनु पर्ने भन्दै उहाँले सो टिप्पणी गर्नु भएको हो।

जनताको मनोविज्ञान बुझेर बजेट बनाउने र कार्यान्वयन गराउने तर्फ सरकार र सांसदहरुले ध्यान दिनुपर्ने नेता दाहालको भनाई थियो। ‘आफ्नो क्षेत्रमा प्रशस्त बजेट दिनुपर्छ, विकासका योजना दिनु पर्छ’ भन्ने नागरिकको मनोविज्ञान र अपेक्षा हुने गरेको भन्दै उहाँले त्यसलाई संवोधन गर्न चुनौतीपूर्ण रहेको समेत उल्लेख गर्नु भयो।


निर्वाचनका क्रममा ‘म राम्रो कानून बनाउन जान्छु त्यसैले मलाई भोट दिनुहोस्’ भनेर भन्ने चलन पनि कम रहेको भन्दै उहाँले नागरिकको मनोविज्ञान बुझ्न र बुझाउन पनि खाँचो रहेको उहाँले उल्लेख गर्नुभयो।