अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार: कांग्रेस

राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार: कांग्रेस


काठमाडौँ-नेपाली कांग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी ९एमाले०सँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या राष्ट्रिय सहमतिका साथ समाधान गर्न एमालेसँग सहमति गर्नुपरेको निष्कर्ष निकालेको हो।

बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमालेबीच सोमबार राति भएको सत्ता समीकरणको सहमतिबारे जानकारी गराउनुभएको थियो। सोमबार दुई दलबीच संविधान संशोधनलगायत विषयमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको थियो।

बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सञ्चारकर्मीसँग कुरा गर्दै अब एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गर्ने सहमति जनाउनुभएको जानकारी दिनुभयो। आगामी निर्वाचनसम्म एमाले र कांग्रेसले आलोपालोमा सरकारको नेतृत्व गर्ने र सरकारमा अन्य दललाई पनि संलग्न गराउने समझदारी भएको उहाँले बताउनुभयो।