अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डले दोहोरो चरित्र देखाउनु भयो: प्रदीप ज्ञवाली

प्रधानमन्त्री प्रचण्डले दोहोरो चरित्र देखाउनु भयो: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धन भत्किनुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै गतिविधि जिम्मेवार रहेको आरोप लगाउनु भएको छ।

प्रधानमन्त्री प्रचण्डले एमालेलाई थाहा नदिई नेपाली कांग्रेससँग नयाँ सरकारको गृहकार्य गरिरहेको थाहा पाएपछि नयाँ परिस्थिति आएको उपमहासचिव ज्ञवालीको दाबी छ। उहाँले राजनीतिक स्थायित्व र आवश्यकता अनुसार संविधान संशोधन गर्ने गरी नेपाली कांग्रेससँग समझदारी भएको पनि बताउनु भयो।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘एमालेको कारणले यो स्थिति आएकै हैन। हामीले त ब्ल्याङ्क चेकमा हस्ताक्षर गरेर दिएका थियौं। पक्कै हो, हाम्रा केही गुनासा थिए। तर, ती सरकार परिवर्तनको तहमा थिएनन्। एमालेसँग परामर्श नगरेरै प्रधानमन्त्री आफैँ वैकल्पिक सरकारको खोजीमा लागेपछि अहिलेको परिस्थिति बनेको हो।’  

एमालेभन्दा पहिले नै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव गरेको उपमहासचिव ज्ञवालीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘तर, यसपटक कांग्रेसले प्रचण्डको प्रस्ताव स्वीकार गरेन्। लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको लामो संवादले नयाँ राष्ट्रिय सरकारको ढोका खोलेको हो।’ 

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले दोहोरो चरित्र देखाउने गरेको आरोप लगाउनुभएको छ। उहाँले भन्नुभयो, ‘प्रचण्डजीले आफैँ प्रधानमन्त्री हुने, आफैँ वैकल्पिक सरकारको खोजी गरेको थाहा पाएपछि हामीले सोध्यौँ । सुरुमा उहाँले प्रस्ट पार्नु भएन । सामान्य हो भन्न थाल्नुभयो । दोहोरो भूमिका तथ्यसहित सोधेपछि उहाँसँग खास जवाफ रहेन । दोहोरो चरित्र नदेखाएको भए सरकार परिवर्तनको कुरा उठेकै थिएन।’

प्रधानमन्त्री अर्कै बाटो हिँड्न खोजेको उहाँले आरोप लगाउनु भयो। मुख्य सत्ता साझेदार दलसँग कुनै परामर्श नै नगरी विपक्षीसँग संवाद गर्न थालेपछि हामीले याे कदम चालेको नेता ज्ञवालीले बताउनु भयो।